जहाँ शिक्षकले मासिक तलब एक हजार पाउँछन्

जहाँ शिक्षकले मासिक तलब एक हजार पाउँछन्


विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? १० हजारभन्दा माथि नै होला भनेर धेरैले अनुमान लगाउन सक्छन्। तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयका शिक्षकको तलब थाहा पाउनुभयो भने तपाईं आश्चर्यमा पर्नुहुन्छ।

यहाँ पढाउँदै आएकी एक शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरेकी छिन्। विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै आएकी हुन्।

सुकुम्बासी दलित बस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो। विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको शिक्षिका शाहीले बताइन्।

भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन हुँदै आएको छ। न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा २ जना अस्थायी दरबन्दीमा १ जना राहतमा र १ जना निजी गरी जम्मा ४ जनाबाट विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालको भनाइ छ।

विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघ अध्यक्ष वीरे बुढाले बताए।

नेपाल–भारत सीमादेखि करिब २ सय मिटरभित्र रहेको विद्यालय गाउँलेहरुको पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन गरेका थिए। विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले यसलाई मान्यता दिएको थियो।

विद्यालयमा पर्याप्त कक्षाकोठा छैनन्, तारबार छैन, गतिलो शौचालय छैन। तर पनि सुकुम्बासी बस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारको भनाइ छ।

एक दशकअघि स्वीकृति पाएको विद्यालयले २ जना अस्थायी दरबन्दी र १ जनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन। न त जिल्ला शिक्षा कार्यालयले नै हेर्ने गर्छ, न त नगरपालिकाको वार्षिक योजनामा नै विद्यालय पर्ने गरेको छ।