तीन 'भुटानी' प्रतिनिधि कांग्रेस महाधिवेशनमा

तीन 'भुटानी' प्रतिनिधि कांग्रेस महाधिवेशनमा


काठमाडौं । कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति, बेलायतमा प्रतिनिधि विवाद भएको छ। बाह्रौँ महाधिवेशनका लागि समितिका अध्यक्षले पठाएका सात प्रतिनिधिमध्ये तीन भुटानी नागरिक रहेको दाबी गर्दै उपाध्यक्षले छुट्टै टोली पठाएपछि विवाद सार्वजनिक भएको हो। बेलायतबाट महाधिवेशन प्रतिनिधि रहेका अध्यक्ष लोकबहादुर गुरुङ, हिमाल गुरुङ र प्रवेश केसी भुटानी नागरिक रहेको भन्दै वरिष्ठ उपाध्यक्ष भीमबहादुर राईले आफ्नो नेतृत्वमा अर्को टोली चयन गरेका हुन्।
कांग्रेस विधानको धारा ४ मा विदेशस्थित जनसम्पर्क समितिको सदस्य हुन नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। अध्यक्ष लोकबहादुर गुरुङ,हिमाल गुरुङ र प्रवेश केसी भुटानी शरणार्थीको रूपमा बेलायतमा स्थायी बसोबास गर्दै आएका छन्। बेलायतको लन्डन थेम्स कलेजमा गत अगस्ट २० मा क्रियाशील सदस्य भेलाले प्रतिनिधि चयन गरेको थियो। त्यसअघि नै समितिका अध्यक्ष अवैधानिक रहेको विवाद उठिरहँदा क्रियाशील सदस्य भेला नै नगराई गुरुङले महाधिवेशन प्रतिनिधि चयन गरी पठाएको जनसम्पर्क समिति युरोपका उपाध्यक्ष एवं बेलायत समितिका निवर्तमान अध्यक्ष विनोद मोक्तानले बताए। अध्यक्षले पठाएको प्रतिनिधि सूचीमा विधानअनुसार भूतपूर्व गोरखा सैनिक र महिला प्रतिनिधिसमेत नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष राईको समूह सर्वोच्च अदालत जाने तयारीमा रहेको मोक्तानले जानकारी दिए। राईको समूहले वरिष्ठ नेता शेरबहादुर देउवा र केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नरहरि आचार्यसँग भेटेर ध्यानाकर्षण गराएको छ। बेलायतबाट पठाइएको उजुरी पार्टी कार्यालयमै गायब पारिएपछि नेताहरूसँग आधिकारिक छलफल हुन नपाएको भन्दै केन्द्रीय नेताहरूको ध्यानाकर्षण गराएको मोक्तानले बताए।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले विदेशस्थित सम्पर्क समितिका विवाद वैधानिक प्रक्रियाका आधारमा महाधिवेशनअगावै टुंगो लगाइने बताए। विधानमा महाधिवेशन प्रतिनिधिका लागि कम्तीमा ५ सय क्रियाशील सदस्य रहेको देशबाट ७ जना र त्यसभन्दा बढी भएमा सदस्य संख्याको आधारमा प्रतिनिधि पठाउन पाउने व्यवस्था छ।
जापान र अमेरिकाबाट नआउने
विवादकै कारण जापान र अमेरिकाबाट महाधिवेशनमा प्रतिनिधि सहभागी नहुने भएका छन्। बेल्जियम, कोरिया र कतारबाट ७र७ जना र भारतबाट १४ जना प्रतिनिधि आउने यसअघि नै तय भएको छ। महाधिवेशन सुरू हुन ६ दिन वाँकी रहँदा अधिकांश भातृ संस्था, शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधिको समेत निर्क्यौल हुनसकेको छैन्। ती संस्थाले पठाएको नामावलीको आधारमा केन्द्रीय निर्वाचन समितिका सदस्यको रोहवरमा केन्द्रीय समितिले टुंगो लगाउने निर्णय केन्द्रीय समितिले गरेको छ। ती संस्थाहरू सबैको अधिवेशन नसकिएकोले केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो।
सो निर्णय अनुसार हालसम्म भूतपूर्व सैनिक संघ, किसान संघ र प्रेस यूनियानले मात्रै महाधिवेशन प्रतिनिधिका लागि सिफारिस पठाएका छन्। सबैभन्दा बढी ११ जना प्रतिनिधि हुने ट्रेड यूनियान काग्रेस, ७ सदस्य रहेने शिक्षक संघ, ने।वि संघ तरूण दलकै तर्फबाट महाधिवेशन प्रतिनिधिको नाम तय भएको छैन्। त्यसैगरी सास्कृतिक संघ, डेमोक्रेटिक लयर एसोसियसनको पनि प्रतिनिधि टुगो लागेको छैन।-नागरिक