‘tAlK oF tHe ToWn’-weekly

‘tAlK oF tHe ToWn’-weekly


तमू धिं यूकेको आफ्नै सामुदायिक भवन
स्थानीय वासीहरुसरह यापन गर्दै आएका नेपालीहरु यूकेमा पनि विस्तार भई विविध हुँदै आएका छन् । नेपाली समुदायभित्रको एक जाति तमूहरुको समाज तमू धिं यूकेले यूकेमा आफ्नो स्वामित्वको अनि जातीय परिवेश जनाउने गरी एक सामुदायिक भवन खरिद गरेको समाचार नेपाली मेलामा सञ्चालकहरुले बेस्सरी सार्वजनिक गराएका थिए । स्पष्ट रुपमा तमू धिं यूकेको धाक यूकेमा देखिएको छ । वर्षअघि नै विभिन्न रुपका कार्यक्रमहरुको आयोजना गर्नको लागि डेट लिनु पर्ने फार्नबोरोमा अवस्थित सामुदायिक भवनहरुलाई केही भए पनि राहत मिल्ने पक्का छ । एकातिर यो राम्रो कार्य देखिएको हो भने, अर्कोतिर यसले एक प्रकारले जातीय स्वरुपको प्रतिस्पर्धात्मक अवस्थाको शिलान्यास गरेको देखिएको छ भने, नेपाली समाजको असम्मिलित प्रकृतिको उजागार पनि गरेको छ । फार्नबोरोका स्थानीय अँग्रेजी समुदायले पनि यसै विषयमा गम्भीर असहमति जनाएको थाहा लागेको छ । ….’नेपालीहरुलाई किन पर्टिकुलर्ली इन्डिभिज्योल कम्युनिटि सेन्टर चाहियो ?’ ….भन्ने तिनको असहमति रहेको थाहा लागेको छ, तिनलाई ….’नेपाली समुदायभित्रको एक तमू जातिलाई पर्टिकुलर्ली इन्डिभिज्योल कम्युनिटि सेन्टर चाहिएको’ भने अझै थाहा नभएको हुन सक्छ । अनुमान मात्र ।

नेपाली मेलामा संस्कृतिको प्रदर्शन कसका लागि ?
रिचमोण्डमा यो पालि नेपाली मेला लागेको थियो । नेपालको समूल जातीय संस्कारको प्रदर्शनको आशा राख्ने कतिपय भने निराश भएकै हुनु पर्दछ, तमूहरुका विविध क्षेत्रीय जातीय संस्थाहरुको नै वर्चश्व रहेको सो भेलामा अन्य प्रशस्तै जातिहरुको उपस्थिति लगभग शून्य थियो । भन्नेले के पनि भन्दैछन् भने, तमू धिं यूकेले अझै वास्तविक रुपमा फैलन भने सकेका रहेनछन्, वा विविधता पैल्याउन अझै चुकेका रहेछन्, या अन्य जातिहरुमा जातीय दम्भ अद्यापि रहेछ या ती सोही परिणाममा संकीर्ण रहेछन्, अनुमानको चर्चा व्यापक छ एकातिर भने अर्कोतिर अन्य समुदाय वा अन्य स्थानीय वासीहरुको उपस्थितिको अभावमा आफ्नै प्रदर्शन आफै हेर्न वाध्य भए नेपाली नेपाली मेलामा ।

राजदूतको राष्ट्रिय विज्ञापन
राजदूत चालीसेले मुख्य रुपमा लण्डनका उपमेयर अनि रिचमोण्डका मेयरका सम्मुख नेपाल तथा नेपाली अनि गुर्खालीको राम्रै विज्ञापन गरे -नेपाली मेलामा । नेपाल राष्ट्रको आधिकारिक प्रतिनिधिको सगोल रुपको प्रदर्शन गरे । चीनका लागि नेपाली राजदूत टँक कार्कीको प्रतिनिधित्वजनक प्रस्तुति तथा सम्पूर्ण व्यक्तित्वलाई बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेको प्रस्तुति तथा व्यक्तित्वसँग अनायासै तौलन खोज्दा धेरै ‘मिसम्याच्ड’ हात लागेको छ । सम्हालिन सकिने लश्करौं पक्षहरु त्यता पनि छन् भने सम्हालिन पर्ने थुप्रै पक्षहरु यता पनि छन् । बोल्न सक्ने, वा नसक्ने क्षमताबाहेक चीन र बेलायतसँगको नेपालको सम्वन्ध विस्तार गर्न सकिने पक्षहरुमा कामहरु भने कत्ति गरिएका छन् त ? दुबै देशमा सयौं सयौंका संख्यामा नेपालीहरु अलपत्र परेका या बेहाल भएका छन्, त्यो भने गौण भएको लाग्दछ ।

गैरआवासीय नेपाली एस्सोसिएसनको भेला

यसैबीच एमआरपी पासपोर्टको अवस्थाले निकास पाएको छैन । एनआरएन परिचय पत्र जसलाई गैरआवासीय नेपाली एस्सोसिएसनका अध्यक्ष देवमान हिराचनले विधिवत लिएर प्रथामा ल्याइसकेपछि भने लगत्तैका कतिपय देशहरुका एनआरएनहरुबाट अस्वीकृत गरिएको छ । दोहोरो नागरिकताको मुद्दा छायामा परेको छ । एनआरएन हुनु र मानिनु बीचको परिभाषामा अझै प्रशस्तै विरोधाभासहरु देखिँदै गएको छ । नेपाली उच्च पदाधिकारीहरुसँगको बसउठलाई नै विशेष मान्ने एनआरएनएको संस्थागत प्रवृति देखिएकै बेला यहाँ यसरी अन्तर्राष्ट्रिय भेला जस्तो गरेर एक बैठक बस्दैछ । एनआरएनएका अध्यक्ष देबमान हिराचन अल्पमतमा देखिएका यस भेगमा सो बैठक अर्थपूर्ण रहने आम चर्चा भएको छ ।
-नीर खड्का