तेह्रथमको आठराईमा लिम्बुवानमाथि आक्रमण

तेह्रथमको आठराईमा लिम्बुवानमाथि आक्रमण


लिम्बुवान, नेपाल । लिम्बुवान तेह्रथुम्को सङ्क्रान्तिमा रहेको आठराईथुमको लिम्बुवान कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको छ र सोको विरोधमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताद्वारा दोषीको पहिचान गरी कारवाहीको माग गर्दै विरोधको कार्यक्रम गर्दा वाई. सी. एल र प्रहरी-प्रशासनको मिलोमतोमा लिम्बुवानका कार्यकर्तामाथि नै धम्की, प्रतिकार र गिरफ्तार गरिएको छ ।
गत २०६७ भाद्र ५ गते आठराई थुमस्थित लिम्बुवानको पार्टी कार्यालयमाथि आक्रमण भएको र सोको घट्नाका दोषीहरूको खोजी गर्दा उल्टै परिषदका कार्यकर्तामाथि अपशब्द बोली धम्की दिइएको हो । साथै, २०६७ भाद्र १४ गते परिषदकै श्रीजुङ इलाका समिति संयोजक खगेन्द्र चोङबाङको घरमा सुनियोजित रुपले अनाहकमा प्रशासनबाट खानतलासीसमेत गरिएको छ । लिम्बुवानको आठराई थुमस्थित पार्टी कार्यालयमा आक्रमण गरिएकोप्रति प्रहरी प्रशासन मौन भई दोषीको पहिचान गरी कारवाही गर्न नसकेकोले दवाबस्वरुप भाद्र २१ गते आठराईथुम शान्तिपूर्ण बन्दको आह्वान गरिएको थियो । उक्त कार्यक्रमलाई एकीकृत नेकपा माओवादीको भातृसङ्गठन वाई. सी. एल. र प्रहरी प्रशासनको मिलेमत्तोमा पूर्ण असफल तुल्याइएको, सोको विरोधको निम्ति पुनः भाद्र २२ र २३ गते दवाबका निम्ति शान्तिपूर्ण बन्द गरिएको थियो । यस क्रममा प्रशासनले दोषीको पहिचान गरी कारवाही गर्नको सट्टा परिषदका १९ जना कार्यकर्ताहरूलाई धरपकड र गिरफ्तारी गरेर दिनभरि हिरासतमा राखेको थियो । प्रहरी प्रशासनको सो व्यवहारप्रति घोर आपक्ति र खेद प्रकट गर्दै लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले हरेक जनताले आफ्नो हक-अधिकार सुनिश्चित गर्न माग गर्न पाउने मौलिक अधिकार हनन् भएको साथै लोकतन्त्रको उपहास भएको कुरा लिम्बुवान तेह्रथुमका अध्यक्ष देवनारायण सम्बाहाङफेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । सोही विज्ञप्तिमा लिम्बुवानको कार्यालय र कार्यकर्तामाथि भएाको आक्रमणप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुम घोर आपत्ति प्रकट गर्दै ७ दिनभित्र दोषीहरूलाई पहिचान गरी कडाभन्दा कडा कारवाही गर्नको लागि जोडदार माग गरिएको छ ।
यदि उक्त ७ दिनभित्रमा दोषीको पहिचान गरी कारवाही नभए जिल्लाव्यापी अनिश्चितकालीन आन्दोलनमा जान बाध्य हुनेसमेत जनाइएको छ ।
यसरी लिम्बुवान कार्यकर्तामाथि निरन्तर धम्की, आक्रमण र गिरफ्तार भएपछि तेह्रथुमका छिमेकी गाउँका लिम्बुवान कार्यकर्ताहरू सयौंको सङ्ख्यमा आठराईको सङ्क्रान्तिमा केन्द्रित भई २२ गते साँझ राँके जुलुश र २३ गते सङ्क्रान्ति बजार ठप्प बन्द गरिएको थियो ।
– डीबी लिम्बू