पचासलाख मुसलमानहरुलाई बुर्का लगाउन प्रतिबन्ध

पचासलाख मुसलमानहरुलाई बुर्का लगाउन प्रतिबन्ध


लण्डन । युरोपेली राष्ट्रहरुमा बेल्जियम पहिलो राष्ट्र हो जुन राष्ट्रमा बुर्का प्रतिबन्ध गर्ने कानून लागू गरी सकेको छ । फ्रान्समा पनि बुर्काको विषयमा यस वर्षको शुरुदेखि नै छापाहरुमा चर्चा चलेको थियो । हिजो बुर्का लगाउन प्रतिबन्ध गर्ने विषयमा फ्रान्स सरकारले सदनमा मतदान गरेर अन्तमा भारी मतबाट बुर्का लगाउन प्रतिबन्ध गर्ने कानून पारित गरेको छ । सदनमा २४६ जना सिनेटरहरुले मतदान गरेका थिए जसमा केवल एकजनाले मात्र विपक्षमा मत दिएका थिए । यस कानूनलाई अन्तिम रुप दिएर लागू गरेपछि यस कानूनलाई पटक-पटक उल्लंघन गर्नेलाई जेल सजाए दिइनेछ । पचासलाख मुसलमानहरु भएको राष्ट्र फ्रान्समा मुखलाई पूर्ण रुपले छोप्ने प्रक्रियालाई राष्ट्रको मूल्य-मान्यताको विपरीत भएको ठहर गरिनेछ । अलकायदाबाट कडा धम्की र नेताहरुलाई सांघातिक बदला लिनेजस्ता धम्कीहरुको बावजुद यो कानून सदनले पारित गरेको छ । यो कानून लागू गरेको म्याद देखि ६ महिनासम्म मुसल्मान महिलाहरुलाई नयाँ कानून पालन गर्ने शुरुको प्रक्रिया भएकाले कानूनी कारवाही गरिने छैन । ६ महिनाको समय अवधि समाप्त भएपछि महिलाहरुले बुर्का लगाएको देखिएमा १२५ पाउण्ड जरिमाना गरिने छ अथवा नागरिक कक्षाहरुमा उपस्थित हुन लगाउने छन् । कतिपय मुस्लिम समुदायका व्यक्तिहरुले कानून लागू गरे पनि कुनै हालतमा जुनसुकै परिस्थितिमा पनि कानूनको पालना गरिने छैन र बुर्का लगाउन छाड्ने छैन भन्न थालेका छन् । यदि कुनै पुरुषले महिलालाई बुर्का लगाउन बाध्य बनाएको साबित हुन्छ भने २५००० पाउण्डको जरिमाना तथा एक वर्षको जेल सजाए तोकिएकोछ । यो कानूनबाहिर मुलुकबाट फ्रान्स भ्रमणमा आएकाहरुलाई पनि लागू हुनेछ । श्रोत – नेट, सुमल, मेस ।