एन.आर.एन. यूकेको प्रेस विज्ञप्ती

एन.आर.एन. यूकेको प्रेस विज्ञप्ती


बेलायतमा लागू पदार्थ ओसारपसारको झुठो अभियोग लागी अनाहकमा कानूनी फन्दामा परेका नेपाली विद्यार्थीहरु पवित्र वस्याल, वहाँका श्रीमान् कृष्ण शर्मा र परशुराम थापा निर्दोष सावित भई थुनाबाट मुक्त हुनुभएको समाचारले हामीलाई अत्यन्त खुशी तुल्याएको छ । यस सुखद अवसरमा वहाँहरु तीनैजनालाई एन.आर.एन. यूके हार्दिक बधाई ज्ञापन गर्दछ । वेलायतको अदालतमा हिजो १४ सेप्टेम्वरमा भएको बहसको क्रममा वहाँहरुविरुद्ध कुनै ठोस प्रमाण पेश हुन नसक्दा वहाँहरु निर्दोष रहेको निर्णय अदालतले सुनाएपछि वहाँहरुलाई थुनामुक्त गरिएको थियो । सो अदालतमा पीडित पक्ष श्रीमती पवित्र बस्यालको तर्फबाट एन.आर.एन. यूकेका सल्लाहकार तथा सोलिसिटर राजु थापाले बहस गर्नुभएको थियो । विजयको यस घडीमा एन.आर.एन. यूकेको तर्फबाट मुद्दाको जिम्मेवारी लिई प्रारम्भदेखि अन्तिमसम्म अहोरात्र मेहनत गरी साँचो न्याय दिलाउन सफल हुनुभएका हाम्रा सल्लाहकार तथा सोलिसिटर राजु थापालाई संस्थाको तर्फबाट हार्दिक बधाई र धन्यवाद दिन्छौं । साथै, यसक्रममा वहाँहरुलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने तथा जेल भ्रमण गरी सहानुभूति प्रकट गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

यस घटनाबाट हामी गैर-आवासीय नेपालीहरुलाई एकातिर दुखःमा परेका आफ्ना सदस्यहरुप्रति एक्यवद्ध भई सहयोग गर्ने भावनामा अभिवृद्धि गराई नेपालीबीचको एकतालाई बलियो बनाउन मद्दत मिलेको छ भने अर्कोतिर विदेशी उच्चशिक्षाको आशामा विदेशमा भौतारिनु पर्दा कस्ता कष्टसाध्य फन्दामा पनि फसिन पुगिनेरहेछ भन्ने कुराको राम्रो पाठ हामीलाई दिलाएको छ । यस दुखःद घटनाले नेपाल र हामी गैर-आवासीय नेपाली सबैलाई राम्रो शिक्षा दिएको छ । हामी यस अवसरमा वहाँहरु तिनै जनालाई सफल भविष्यको शुभकामना दिन चाहन्छौं । वेलायतमा वहाँहरुको शिक्षालाई निरन्तरता दिलाउन एन.आर.एन. यूकेले आफ्नो सहयोग जारी नै राखेको छ र थप अन्य सहयोगको लागि सम्पूर्ण सहयोगी मित्रहरुसंग हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।

भक्त गुरुङ
राष्ट्रिय संयोजक, एन.आर.एन. यूके