(कविता)घाम ताप्ने रहरमा

(कविता)घाम ताप्ने रहरमा


-सुमल कुमार गुरुङ,
घाम उदाउँछ अँध्यारो चिरेर
अनि उज्यालो मुस्काउँछिन्
रुखपातहरुमा
हिमालहरुमा
घर-आँगनहरुमा
अनि विस्तारै रश्मी बन्दै
कोमल किरणहरु फैलिन्छन् राष्ट्रभरि ।

निष्पक्ष !
निष्कपट !
निश्छल !
कत्ति उदार छ आकाशमाथिको घाम
के गरीब ? के धनी ?
के नेता ? के अभिनेता ?
सबैलाई बराबर छ ।

तर,
यो घाम अहिले छोपिएको छ
अस्थीरताको बादलभित्र
बेमौसम अकाशभरि अशान्ति गर्जेपछि
शान्ति हराईन् अँध्यारोभित्र
उत्तर र दक्षिणबाट आउने हावा
पाटा-पाटामा
खेल्दैछन् भुमरी
कहिले कांग्रेस पोको पार्दै
कहिले एमाले गुम्स्याउँदै
कहिले माओवादी तर्साउँदै ।

घामै ढाक्ने कालो बादल
अन्यौलताको झरी बन्छिन्
उज्यालोको आशा बोक्दै
उक्लन खोज्ने लोकतन्त्रको अर्थतन्त्र
निथ्रुक्क भिजेकी छिन् ।

समात्ने हाँगो बिना
टेक्ने अखेटा बिना
जनता नाङ्गेझार बनेका छन्
रमिता हेर्ने संसदहरुको बाढीभित्र
लोकतन्त्रको कलिलो घाम पर्खेर बसेका छन्
संवैधानिक घाम ताप्ने रहरमा ।