फोहर फालेको उजुरी गर्नेलाई भत्ता

फोहर फालेको उजुरी गर्नेलाई भत्ता


विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ ।

सो महानगरपालिकाका प्रमुख भीम पराजुलीले फोटोसहितको सुराकी दिनेलाई प्रोत्साहनस्वरुप भत्ता दिने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । दिनप्रतिदिन बढ्दै गएको फोहरमैलाको विकराल समस्यालाई न्यूनीकरण गर्न महानगरपालिकाले पहिलो पटक यस्तो योजना ल्याउन लागेको प्रमुख पराजुलीको भनाई छ। प्रोत्साहन भत्ता दिएर भए पनि शहरलाई सभ्य बनाउनु पर्ने दायित्व बढेको उल्लेख गर्दै पराजुलीले बोर्ड बैठक बसेर यसबारेमा चाँडै निर्णयमा पुगिने बताउनुभयो ।

विराटनगर नगर क्षेत्रमा दैनिक ९० मेट्रिक टनसम्म फोहर उत्पादन हुने गरेको छ । शहरी क्षेत्रमा उत्पादन हुने यस्ता फोहरका कारण नगर क्षेत्र दुर्गन्धित हुँदै आएको छ । विराटनगरको गुद्री, मेनरोड, देवकोटा चोक, गुद्री, बरगाछी, तिनपैनी चोकबाट निस्कने फोहर घरबाट फ्यालिने गरेको छ । पटकपटक सचेत गराउँदा समेत अटेर गरेपछि महानगरपालिकाले यस्तो कडाइ गर्न लागेको हो वातावरण शाखाका इञ्जिनियर घनश्याम काफ्लेलाई उद्धृत गर्दै राससले जनाएको छ । नर्सिङ होम, वित्तीय संस्थान, पसलबाट निस्कने फोहरको व्यवस्थापन मुख्य समस्या देखिएको इञ्जिनियर काफ्लेको भनाइ छ ।