एन.आर.एन. यूकेको सहयोग माइती नेपाललाई

एन.आर.एन. यूकेको सहयोग माइती नेपाललाई


लण्डन । एन.आर.एन. यूकेले गत १३ सेप्टेम्वरमा औपचारिक कार्यक्रमको आयोजना गरी माइती नेपालका अध्यक्ष अनुराधा कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेको छ । लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेण्टको सभाकक्षमा आयोजना गरिएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा एन.आर.एन. यूकेका कार्यसमितिका पदाधिकारीहरु, एन.आर.एन. यूकेका सल्लाहकारहरु र समाजका बिशिष्ठ व्यक्तित्वहरुको भव्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता एन.आर.एन. युकेका अध्यक्ष सूर्य गुरुङले, सञ्चालन राष्ट्रिय संयोजक भक्त गुरुङले गरेका थिए भने सल्लाहकार पशुपति भण्डारीले उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजकको तर्फबाट स्वागत गरेका थिए । सहयोगदाताहरुबाट संकलित सहयोग रकमको विवरण उपाध्यक्ष कुल आचार्यले सभामा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एन.आर.एन. यूकेका अध्यक्ष सूर्य गुरुङले संस्थाको तर्फबाट कूल सात हजार दुर्इसय बत्तीस पाउण्ड (ने.रु.आठलाख बत्तीस हजार आठसय तीस) बराबरको चेक माइती नेपालका अध्यक्ष अनुराधा कोइरालालाई हस्तान्तरण गरेका थिए । एन.आर.एन. यूकेले माइती नेपालले विगत १७ वर्षदेखि नेपालमा चेलीबेटी तथा बालवालिका बेचबिखन, घरेलु हिंसा, बाल यौनशोषण तथा यौन अपराधविरुद्धको अभियानमा पुर्‍याउँदै आएको योगदानको उच्च सम्मान गर्दै यो सहयोग रकम उपलब्ध गराएको हो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष सूर्य गुरुङले माइती नेपालले नेपालको समाजिक विकृति र विसंगतिको विरुद्धमा अनवरत रुपमा संघर्षरत रही थुप्रै विध्नवाधाहरुका बावजूद हजारौं उत्पीडित चेलीवेटीहरुलाई नयाँ जीवनदान दिन सकेकोमा माइती नेपालको उच्च प्रशंसा गरे । उनले एन.आर.एन. यूकेको यो सहयोग नेपालको बालवालिका तथा चेलीबेटी बेचविखन तथा महिला हिंसाविरुद्धको अभियानमा गैर-आवासीय नेपालीहरुको एक्यबद्धताको रुपमा ग्रहण गर्न अनुरोध गर्दै सामाजिक अपराधमुक्त नेपाली समाज निर्माण गर्ने अभियानमा अझ उच्च गतिकासाथ अघि बढ्न माइती नेपाललाई शुभकामना पनि दिए ।
कार्यक्रममा माइती नेपालका अध्यक्ष श्रीमती अनुराधा कोइरालाले माइती नेपालले सञ्चालन गर्दै आएको चेलीबेटी तथा बालवालीका बेचबिखनविरुद्धको अभियानमा एन.आर.एन. यूकेले चासो देखाई सहयोग गरेको उपलब्ध गराएकोमा आभार प्रकट गर्दै एन.आर.एन.यूकेलाई धन्यवाद दिईन् । उनले माइती नेपालको अभियानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय जगतबाट विभिन्न पुरुस्कारहरु प्राप्त भएको कुरा बताईन् । उनले माइती नेपाल र आफ्नो कठोर परिश्रमको उच्च कदर गर्दै सी.एन.एन.हिरो वर्ष २०१० मा आफू छनौट हुन सफल भएको खुशीको खवर पनि सुनाईन् । र, अबको विशिष्ठ दशजना सी.एन.एन.हिरो २०१० को निर्वाचनमा सबै नेपालीहरुले आफूलाई धधध।अलल।अomरजभचयभक मा गई भोट हाली आफुलाई विजयी बन्न सहयोग गर्न पनि अनुरोध गरिन् । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले माइती नेपालले गर्दै आएको कामको उच्च प्रशंसा गर्दै आ-आफ्नो मन्तव्य राखेकिथिईन् । यसरी मन्तव्य राख्नेहरुमा काउन्सिलर धन गुरुङ, काउन्सिलर गम गुरुङ, डा.राघव धिताल, रि.मे.डमर घले, विजय थापा, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र नेपाली, ध्रुव के.सी., थर्क राना, रामकृष्ण त्रिपाठी, पिपला देवानलगायत थिए । अन्त्यमा टुका क्षेत्रीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
-भक्त,