ठोकर्पा माविको भवन शिलान्यास

ठोकर्पा माविको भवन शिलान्यास


सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर २, ठोकर्पास्थित ठोकर्पा माध्यमिक विद्यालयको प्रस्तावित पक्की भवनको एक समारोहका बीच विद्यालय परिसरमा शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री, सामाजिक संस्था हेल्प नेपाल नेटवर्कका सल्लाहकार तथा कवि शंकरप्रसाद कोइराला र माध्यामिक विद्यालयको स्थापनाका लागि महत्वपूर्ण योगदान दिने स्थानीय समाजसेवी मोहनप्रसाद कोइरालाले उक्त प्रस्तावित भवनको भूमिपूजन गरि संयुक्त रुपमा शिलान्यास गरे ।

०७२ सालको भुइँचालोमा उक्त विद्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो । सो विद्यालयको नयाँ भवनको निर्माणका लागि सामाजिक संस्था हेल्प नेपाल नेटवर्क तथा सर्भाइभर्स नेपालले आर्थिक स्रोतको व्यवस्थापन गरेको छ । करिब ८ करोड ४१ लाखको लागतमा प्रस्तावित विद्यालय भवन निर्माण हुने र उक्त विद्यालयलाई नमुना विद्यालयका रुपमा विकसित गर्ने जनाइएको छ ।

सर्भाइभर्स नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सहयोगी मन भएकाहरुको सहयोगमा निर्माण हुन लागेको यस विद्यालय भवनले यस क्षेत्रको शिक्षाका विशेष योगदान दिने बताए । उनले आफूहरुले बिउ रोपेको र यसलाई मलजल गरेर हुर्काउने जिम्मा ठोकर्पावासीहरुको रहेको बताए ।
कार्यक्रममा समाजसेवी मोहनप्रसाद कोइराला, सर्भाइभर्स नेपालका प्रतिनिधि कोशिस अर्याल, प्रधानाध्यापक गोविन्द महत, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण जीसी, विष्णु न्यौपाने, लक्ष्मी पौडेल, नेत्र कार्कीलगायतले बोलेका थिए ।

वि.संं. २००८ मा भाषा विद्यालयको रुपमा स्थापित उक्त स्कूलमा हाल दश कक्षासम्मको पठनपाठन हुँदै आएको छ ।