मस्तिष्कले सोंचेको बोलीमा रुपान्तर

मस्तिष्कले सोंचेको बोलीमा रुपान्तर


लण्डन । हालै विज्ञानले एउटा चमत्कार गरेको समाचार प्राप्त भएको छ । अनुसन्धानकर्ताहरुले पहिलोचोटि मस्तिष्कमा सेन्सर जडान गरेर दिमागको संकेतलाई बोलीमा रुपान्तार गर्न सक्ने विषयमा सफलता प्राप्त गरेका छन् । यो सफलता ९० प्रतिशत एकदमै सही भएको र पक्षघातले पीडित मानिसहरु जसले बोल्न सक्दैनन् उनीहरुका लागि उपयोगी हुने कुरा बताएका छन् । क्रमशः यसले कुनै पनि मानिसले सोचिरहेको कुरा बोलीमा उल्था गरेर भन्न खोजिएको कुरा पता लगाउन सकिन्छ । अनुसन्धानकर्ताहरुका टोलीलाई नेतृत्व गरिरहेका उटाह विश्वविधालयका प्रोफेसर, बायोइन्जिनियर ब्राडले ग्रेगरका अनुसार, “जब यस मेशिनले काम गर्न थाल्यो, हामी आफैमा उत्तेजित हुन थाल्यौं र यो त्यो क्षण थियो जतिबेला भनेजस्तै सबै एकैचोटि पूरा भयो” भनेर उद्धृत गरेका छन् । उनले अघि विस्तार गर्दै भने, “हामीले पक्षघातबाट पीडित बिमारीहरु, जो अहिले बोल्न सक्दैनन्, चाहेका कुराहरु दिमागकोृ तन्तुबाट दिएका संकेतहरुलाई मेशीनको माध्यमबाट उल्था गर्न सफल भयौं, म यसलाई दिमाग पढ्ने मेशिन भन्न रुचाउँछु र हामी आशा गर्छौं, अब आउने दुर्इतीन वर्षभित्र पक्षघातबाट पीडित बिमारीहरु जो बोल्न सक्दैनन् उनीहरुको प्रयोगको लागि उपलब्ध हुनेछ” भनेर प्रकाश पारेका छन् ।
यो सफलता एकजना छारे रोग लागेको व्यक्तिको मस्तिष्कमा दुइटा बटन आकारको ग्रिडको टुप्पोबाट १६ वटा विद्युतीय मसिना तारहरु मस्तिष्कको बोली नियन्त्रक केन्द्रमा जडान गरिएको थियो र सेन्सरहरु मस्तिष्कको सतहमा जोडिएको थियो । बिमारीको खोपडीको एउटा भाग अर्को अपरेशनको लागि निकालिएको थियो । विद्युतीय मसिना तारहरुको तरंगमार्फत आएको मस्तिष्कको संकेत कम्प्युटरको स्क्रीनमा वैज्ञानिकहरुले रेकर्ड गरे जो बिमार भएको व्यक्तिले लगातार प्रत्येक १० वटा शब्दहरु पढिरहेका थिए भन्नाले उनले सोंचिरहेका ती शब्दहरु बोलीमा रुपान्तर भइरहेको प्राप्त गरे । उदाहरणको लागि पक्षघातबाट पीडित व्यक्तिको लागि “हो, होइन, तातो, चिसो, भोक लाग्यो, प्यास लाग्यो, हैलो तथा बाइ-बाइ जस्ता शब्दहरु मस्तिष्कले भनिरहेका ती तारहरु र सेन्सरबाट थाह लागेको थियो । कुनै शब्दलाई सोचिरहेको अवस्थामा मस्तिष्कको संकेतमा मेशिनको माध्यमबाट शब्दमा रुपान्तर भएको रेकर्ड कम्प्युटरमा ७० देखि ९० प्रतिशतसम्म सही भएको अनुसन्धानबाट थाहा लागेको छ । श्रोत – नेट, सुमल, मेस ।