नाइजरको लाखौं जनता भोकमरीमा

नाइजरको लाखौं जनता भोकमरीमा


लण्डन / अफ्रिका महादेशको एउटा राष्ट्र नाइजर क्षेत्रफलको हिसाबमा ठूलो राष्ट्र हो । तर, यो भूपरिवेष्ठित राष्ट्रमा संसारको सबैभन्दा ठूलो मरुभुमी सहाराले उत्तरपटि्ट झण्डै राष्ट्रको तीनभागको दुर्इ भाग भूभाग ओगटेको छ । झण्डै डेढ करोड जनसंख्या रहेको यो राष्ट्रमा विगतका वर्षाहरुमा खाद्य उत्पादनमा ह्रास आएको कारण देशका आधा जनता भोकमरीको शिकार हुन पुगेको समाचार हालसालै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका कार्यकर्ताहरुले प्रकाश पारेका छन् । केही समयअघि राष्ट्रसंघका विशेष प्रतिनिधि साइद जिनिटले नाइजरका सैनिक शासक जर्नेल सलोउ जिबोसँग भेट गरेपछि नाइजरको राष्टिय टीभी प्रसारणमार्फत, “सम्बन्धित अधिकारीहरुको छिटो छरितो कारवाही साथै अन्तर्राष्ट्रिय समुदायबाट शीघ्र सहयोग प्राप्त भएकाले हामीले नाइजरको खाद्यसंकट टाल्न सफल भएका छौं”, भनेर सम्प्रेषण गरेका थिए । तर, यस कुरालाई सेभ द चिल्ड्रेनका कार्यकर्ताहरुले पुष्टि गरेका छैनन् । उनीहरुका अनुसार भोकमरीमा नियन्त्रण प्राप्त नभएको भनेर प्रकाश पारेका छन् । हालका सप्ताहहरुमा प्रत्येक सप्ताह पाँच वर्षभन्दा मुनिका बच्चाहरु लगभग २५०० भन्दा माथिको संख्यामा आपतकालीन बच्चाहरुका लागि स्थापता गरिएका खाना खुवाउने केन्द्रहरुमा ओइरिन थालेका छन् । यो संख्या पहिलेको भन्दा चारगुणा बढी हो भनेर प्रकाश पारेका छन् । अस्ति भरखर वर्षाका कारण बाढीले एकलाख भन्दा बढी मानिसहरु घरवार विहिन भएका छन् । बाढीले घरवार सबै बगाएर ठूलो जनधनको क्षति भएको छ । देशका धेरै भागहरुमा जहाँ बाढी आएको थियो, चारैतिर सडेगलेका पशुहरुको सिनोले पानी प्रदुषित बनाएको छ । यसले रोग र संक्रमणको ठूलो त्रासदी ल्याएको छ । रोजगारीका लागि छिमेकी राष्ट्र नाइजेरियामा जानेहरुका लागि पनि महँगाइले पिरोलेको छ । खाद्यवस्तुहरुको भाव ३० प्रतिशत बृद्धि भएकोले नाइजरका वासिन्दहरुलाई जीवन ज्ञापन गर्न ठूलो कठिन भइरहेको छ । सेभ द चिल्ड्रेनको तर्फबाट पाँचलाख पाउण्ड रकम संकलन गरेर पाँचहजार सबैभन्दा गरीब रहेका नाइजरवासीहरुलाई बाख्राहरु किनेर दिने योजना गरेका छन् । यसबाट आयश्रोतको माध्यम मात्र नभई बच्चाहरुले दूध पिउनुबाट बंचित हुने छैनन् भन्ने कार्यकर्ताहरुको भनाइ छ । नाइजर धर्तीको मानव विकास सूचकांकमा सबैभन्दा तल्लो राष्ट्रमा पर्छ । यस राष्ट्रमा प्रत्येक पाँचजना बच्चाहरुमा एकजना पाँच वर्ष नपुग्दै मृत्यु हुने गर्छ । श्रोत – नेट, सुमल, मेस ।