tAlK oF tHe ToWn-2

tAlK oF tHe ToWn-2


सेनापतिको यूके यात्रा र साइनो शब्दको महत्व
नेपालका बहालवाला सेनापति क्षेत्रमान सिं गुरुङको यही अक्टोबर ०३ तारिख पाँच दिने लण्डनको सरकारी भ्रमण रहेको थाहा लागेको छ । अक्टोबर ०९ तारिखदेखि बेलायतबासी सर्वसाधारणहरुका लागि उपलब्ध हुने सेनापतिलाई यहाँस्थित विभिन्न संघसंस्थाहरुले स्वागत तथा अभिनन्दन गर्नका लागि विविध रुपका कार्यक्रमहरुको आयोजना गर्न थालिएको छ । सेनापति गुरुङले आफ्नोमा आएका निमन्त्रणाहरुमाथि आफ्नै सोंचअनुसारले तिनलाई प्रायोटाइज गर्ने भएका छन् । तदनुरुप नेपाल राष्ट्रका प्रधानसेनापतिका नजरमा सोही प्रायोरिटिजकै आधारमा तनहुँ समाज यूके नम्बर एकमा पर्ने भएको छ । तनहुँबासी सेनापति गुरुङको दोस्रो प्रायोरिटिचाहिँ तमू धिं यूके पर्ने भएको थाहा लागेको छ । त्यसपछि सायद, ससुराली गाउँले समाज, सालीको जिल्लाको समाज, पल्टनेहरुको समाज आदि आदि गरेर प्रधान सेनापतिको लण्डन यात्रा समाप्त हुने अडकल गरिएको छ । सेना समायोजनको व्यवस्थामा मुख्य कडीको रुपमा चर्चित प्रधान सेनापतिको महत्व हलक्कै बढेको बेलामा श्री मान यूकेमा खादा ओढ्दै व्यस्त हुनेछन्, केहीअवधि ।

बेलायतका लागि नेपाली राजदूत सर्वत्र
गाउँ तथा टोलेहरुका संघसंस्था जन्मिन थालेको यूकेमा सोही पर्यायका अनि तथानामका कार्यक्रमहरुको पनि जन्म हुन थालेकाछन् र सोही अवसरलाई गतिलो प्रकारको औपचारिकता दिने होडमा यहाँ ती संस्थाहरुबाट बेलायतका लागि नेपाली राजदूतलाई औपचारिक रुपमा आमन्त्रणा दिने गरिएको छ । परापूर्वदेखिको एैतिहासिक सम्वन्ध भएको भए तापनि वास्तवमै भन्ने भए नेपाल र बेलायतबीच गर्न सकिने औसत प्रकारको पनिफलदायी सरकारी सम्वन्धहरु सुदृढ भएका छैनन् । यस्तै हो, हाम्रा राजदूतलाई नेपाली पासपोर्ट त्यागेर आफूलाई बेलायती भनाउने धेरै नेपालीहरुका विविध गाउँले संघसंस्थाका कार्यक्रमहरुमा प्रमुख अतिथिको आसन ग्रहण जान भ्याई नभ्याई छ । आफ्ना सहकर्मीहरुलाई पनि यसो पालो दिई केही गह्रुङ्गिएर पदाभार सम्हाले राजदूत चालिसेको महत्व अझै बढ्नेथ्यो अनि तीमध्येका केही समय सरकारी कामका लागि फलदायी हुनेथ्यो भन्ने केही चर्चा शहरमा चलेको छ ।

यूकेमा पनि मीस यूके नेपाल ?
धेरैपहिले भनेको लाग्छ,पुरस्कृत हुनेको वा चुनिनेको भन्दा पुरस्कृत गर्नेको वा चुन्नेको औकात थाहा लाग्नु जरुरी हुन्छ । मेरो शब्द छनोटलाई माफी दिनुहोस् । यस्तै नै सुन्दरी वा प्रतिभाशाली छानी बेलायतबासी नेपालीहरुका माझमा एक युवतीलाई उत्तम भनी एक समूह अगाडि आएको छ । र त्यो समूहका अनुसार सम्पूर्ण यूकेबासी नेपालीहरुकै प्रतिनिधित्व गर्ने गरी उक्त सुन्दरीको समाजमा पर्दार्पण हुँदैछ । तर केही जायज प्रश्नहरु उठेका छन्, यसरी चुन्ने वा चुन्न सक्ने सामर्थ्य राख्ने समूहका आधारभूत सामाजिक धरातल कस्तो छ त ? के तिनले कसैलाई उत्तम भनेकै भरमा समाजले पछ्याउनु पर्ने हो त ? र कसरी सोही प्रतिभाको सदुपयोग तिनले वर्षदिनसम्म गर्नेछन् ? माथिका प्रश्नहरुमा आयोजकहरु अत्यन्तै व्यावसायिक हुनु जरुरी छ, नत्र भने यस्तै प्रकारविशेषका नामधारी दर्जनौं अन्य पेजेन्टहरु हुनेछन्, जसले समाजमा सुन्दरताको नाममा सस्तोपना मात्रै निम्त्याउने छ ।

र अन्त्यमा,
प्रजातन्त्रको जननी भनिएको देश यूकेलाई अहिले टोरी पार्टी र लिबेरलहरुले लिड गरेको सरकारले सोसियोलिज्मतिर धकेल्दैछन् भन्ने आरोप लगाइएको छ । ३५ प्रतिशत आम यूकेबासीहरु गरीवीको रेखामा पुग्न थालेकोलाई मध्येनजर राखेर समाजमुखी बनाइन थालिएको सरकारी नीतिकै विरोधमा धरानबासी श्रीधर..यो नयाँ सरकारले खत्तमै बनायो नी, पहिले मज्जाले खान पाउने बेनेफिट अहिले स्वाँट्ठै झरेको छ, बच्चाहरु धेरै भएर अब भने खत्तमै पार्ने भो’….भन्दै बच्चाहरुको झोंक अनि सरकारको झोंक सुनाउँदैथिए । उता नेपालमा राष्ट्रिय साझा सहमतिको अभावमा देश असफल हुने स्थिति टड्कारो देखिँदै गएको छ । आखिर बिदेशिने नेपालीहरु कता कता भाग्ने हो भन्या ??
-नीर खड्का