प्रेस प्रतिनिधि परिचयपत्र घुम्ती शिविरमार्फत

प्रेस प्रतिनिधि परिचयपत्र घुम्ती शिविरमार्फत


नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघीयतामा स्थानीय र प्रदेशले बनाउने कानुन प्रेस स्वतन्त्रताविरोधी कानुन बन्ने खतरा रहेको बताएका छन् । स्थानीय तह र प्रदेशलाई छुट्टै ऐन बनाउने अधिकार भएकाले आमसञ्चार बुझेको कानुन बन्न नसक्ने उनले बताए ।

सूचना विभाग काठमाडौंको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा शनिबार बुटवलमा भएको पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकार महासंघका जिल्ला शाखा र पत्रकारहरुले सञ्चारमैत्री कानुन बनाउन खबरदारी गर्नुपर्ने बताए । ७ सय ६० संसद रहेकाले अब त्यहाँका जनप्रतिनिधिलाई सञ्चारमैत्री कानुन बनाउन अब महासंघले पहल गर्नुपर्ने बेला आएको उनको भनाई छ ।

पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र यसका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नागरिकका रुपमा पत्रकारले प्रेस स्वतन्त्रताको अधिकार पाएको बताउँदै यसलाई कार्यान्वयन गर्न आग्रह गरे । उनले पत्रकारले आचार संहिताको पालना गर्नु दायित्व भएको बताए । प्रविधिको विकासले चुनौती थपेकाले त्यसलाई आत्मसाथ गर्ने बेला आएको आचार्यको कथन थियो ।

सूचना विभागका निर्देशक सुमन ब्रज्रचार्यले सूचना विभागले समयक्रमसँगै सेवालाई प्रविधिसँग जोडेर अगाडि बढाउने काम गरेको बताइन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले पत्रकारिता पेशा मात्रै नभई समाजसेवा पनि भएको बताए ।्
पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार माधव नेपालले स्थानीय सञ्चार माध्यमको विकास र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रविधिमा मात्रै लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । उनले स्थानीय सञ्चारमाध्यम निल्नु न ओकल्नुको अवस्थामा पुगेकाले अब यसको व्यवस्थापनका लागि सबै पक्ष सुधन आवश्यक रहेको बताए ।

पत्रकार नेपालको कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईले स्थानीय सञ्चारमाध्यमले समाजका लागि ठूलो योगदान दिएको भन्दै समस्याग्रस्त सञ्चारमाध्यमलाई दिगो बनाउन मर्जरमा जानुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, उपाध्यक्ष दिनेश पाण्डे, सचिव रामप्रसाद आचार्य लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विभागको टोली बुटवल आएर घुम्ती शिविरमार्फत प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्न लागिएको छ । पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आज आइतबार र भोली सोमबार विहान १० बजेदेखि परिचय वितरण र नवीकरणको काम हुँदैछ ।

घुम्ती शिविरबाट रुपन्देही सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु लगायतका जिल्लाका पत्रकारहरुलाई सेवा लिन महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिए । उनले जिल्लाभरका पत्रकारहरुलाई सेवाको सदुपयोग गर्न आग्रह गरे ।