स्कटल्याण्डमा पहिलोपटक नेपाली चलचित्र

स्कटल्याण्डमा पहिलोपटक नेपाली चलचित्र


स्कटल्याण्ड । अन्तर्राष्ट्रिय बजारको सम्भावना खोजिरहेको नेपाली चलचित्रहरु युरोप, अमेरिकामा प्रदर्शन गर्ने लहरले यतिखेर तीब्रता पाएको छ । यसै क्रममा अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शनपश्चात् शंकर घिमिरेद्वारा निर्देशित नयाँ चलचित्र ‘बीरताको चिनो’ शनिबार स्कटल्याण्डको एबरडिनमा देखाइयो । अर्गनाइनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयरले आयोजना गरेको सो चलचित्र प्रदर्शन समारोहमा ‘बीरताको चिनो’का निर्माता/निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेको पनि उपस्थिति थियो । स्कटल्याण्डमै पहिलोपटक नेपाली फिल्मको प्रदर्शन गरिएको कार्यक्रम संयोजक दीपेश रेग्मीले बताए ।
एबरडिनमा करीब तीनसय नेपालीहरुको बसोबास रहेकोमा सो चलचित्र हेर्न करीब एकसय पचास नेपालीहरुको उपस्थिति थियो । उपस्थितमध्ये धेरैजसोले वर्षौंपछि नेपाली चलचित्र हेरेको प्रतिक्रिया दिएका थिए भने अधिकांश नेपाली बालबालिकाहरुले पहिलोपटक नेपाली चलचित्र हेरेको बताए ।
समाजका विसंगतिहरु विरुद्ध उर्जाशील युवाहरु सक्रिय रहनुपर्दछ भन्ने आशयले ‘बीरताको चिनो’ निर्माण गरिएको छ । चलचित्रमा सुरेश अधिकारीको कर्णप्रिय संगीत रहेको छ । चलचित्र युनिभर्सिटी अफ एबरडिनको थिएटरमा देखाइएको थियो । युनिभर्सिटी अफ एबरडिन र युनिभर्सिटी अफ एबरडिन विद्यार्थी युनियन (अउसा) ले प्राविधिक सहयोग पुर्‍याएको थियो ।
अर्गनाइनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयरले युरोप, अष्ट्रेलिया र अमेरिकामा आफ्नो संजाल फैलाई मनोरंजनात्मक कार्यक्रमहरु गर्ने जानकारी दिइएको छ । -भाष्कर अर्याल