सतसंग कार्यक्रम शिव मन्दिरमा सम्पन्न

सतसंग कार्यक्रम शिव मन्दिरमा सम्पन्न


फार्नवोरो, अल्डर्शट । गत २६ सेप्टेम्बर आइतवारको दिनमा शिव कल्चरल एण्ड कम्युनिटि सेन्टरको आयोजनामा अल्डरशट नर्थ क्याम्पस्थित वेवल स्कुलको मुख्यहलमा भव्य सतसंग कार्यक्रम सम्पन्न भएको छ । यस क्षेत्रका भारतीय तथा नेपालीहरुले संयुक्त रुपमा भाग लिएको यो कार्यक्रमा अन्दाजी २०० जनाको सहभागिता थियो । शुरुमा आणविक शास्त्री तथा राष्ट्रिय हिन्दू विद्याथी फोरम यूकेका सल्लाहकार हंसमुख साहद्वारा सनातन धर्म किन भनिएको हो र वसुदेव कुटुम्वकम् सनातन धर्मले मात्र सोंच्दछ भन्ने बारेमा प्रष्टाएका थिए भने युवा वर्गका वन्दना उपाध्याय र अनुप बेलवासेव्दारा सूर्य नमस्कार प्रार्थना गरी कार्यक्रमको थालनी गराएका थिए, जसले अभिभावकहरुलाई एक पटक आफ्ना छोराछोरी पनि यस्तै भइदिए हुन्थ्यो भन्ने मनमा भान गरायो ।

सनराइज रेडियोका प्रस्तोता रवि शर्माबाट सतसंग गरिएको यो कार्यक्रमको सञ्चालन सह सचिव सूर्य उपाध्यायले गरेका थिए । भारतीय तथा नेपाली दुवै समुदायको उपस्थिति लगभग बराबर भएको यो सतसंगमा दुर्गा माताको महिमा गान तथा आमाको आत्मीय सम्झना गराइएको थियो । रवि शर्माको भजन र बीचबीचमा उनका उखान टुक्काले सबै भक्तजन मन्त्रमुग्ध भएका थिए । नेपालीहरुका तर्फबाट रामप्यारी (रमा) बानिया र उनका साथीहरुले भजन प्रस्तुत गरेका थिए । कार्यक्रम दिउँसो ३ बजे शुरु भएर बेलुका ६ बजे समाप्त भएको थियो ।

कार्यक्रमको प्रायोजन डाक्टर विनोद कुमारले गरेका थिए भने शिव कल्चलरका सदस्य तथा शुभचिन्तकहरुले स्वय सेवा प्रदान गरेका थिए । कार्यक्रममा भाग लिन भक्तजनहरु फोक्सटन, मेडिस्टोन, ब्राडफोर्ड र रेडिङबाट समेत आएका थिए । उल्लासमय सहभागिता र यस क्षेत्रका मानिसहरुको हिन्दू धर्म प्रतिको आस्था देखेर अन्तमा पण्डित रवि शर्माले आफू पुन यस क्षेत्रमा आई सतसंग गरी दिने प्रणसमेत गरेका थिए । -भीम, मेरो सम्वाददाता,

वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।