जाडो बढेपछि पाँच दिन विद्यालय बन्द

जाडो बढेपछि पाँच दिन विद्यालय बन्द


केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आज गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिनुभयो ।

जाडो अत्यधिक बढेपछि विद्यार्थी संख्यामा पनि कमी हुँदै गएका कारण विद्यालय बन्द गर्नुपरेको उहाँले बताउनुभयो । मोरङमा ५९६ सामुदायिक र ३८४ निजी विद्यालय छन् । बर्खे बिदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको जनाइएको छ ।

मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा सञ्चालन भइरहेका छन् । शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका छन् ।