प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई दिए ‘बहादुर’को संज्ञा

प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई दिए ‘बहादुर’को संज्ञा


‘समानताका लागि बुलन्द आवाज’ भन्ने नाराका साथ आउँदो चैत २०७४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेको ‘प्रथम महिला पत्रकार आरोहण २०१८’ टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीलाई शुभकामना दिनुभयो ।

साथै अभियानका लागिव आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषदबाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा बीपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकार आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागि आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउनमा ब्यस्त छन् ।

आरोहण सम्बन्धि पहिलो चरणका तालिम अन्तरगत दोलखाको रोलवालिङ स्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरिसकेका छन् । नेपाल पत्रकार महासंघको ब्यानरमा जान लागेका महिला पत्रकार टोलीलाई कीर्तीमानी आरोहीफुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन् । उक्त टोली सदस्यहरुको अभियानलाई सराहना गर्दै देउवाले उनीहरुलाई ‘बहादुर र साहसी’ महिलाको संज्ञा दिनुभयो ।