एनआरएन यूकेको प्रथम बृहत बैठक सम्पन्न

एनआरएन यूकेको प्रथम बृहत बैठक सम्पन्न


फार्नबोरो । गैर-आवासीय नेपाली संघ, यूकेको राष्ट्रिय काउन्सिलको प्रथम बैठक यही सेप्टेम्वर २५ मा फार्नवोरोस्थित होटल होलिडे इनमा राष्ट्रिय परिषदको गठन गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । संघका यूकेका सबै पदाधिकारीहरु र विभिन्न ८४ वटा संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको बृहत बैठकको उदघाटन ब्रिटेनका लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसे, संघका प्रमुख संरक्षक डा.उपेन्द्र महतो, संघका अन्तर्राष्ट्रिय अध्यक्ष देवमान हिराचन र संघका यूकेका अध्यक्ष सूर्य गुरुङले पानसमा बत्ती बालेर गरेकाथिए । बैठकको उदघाटन समारोहलाई प्रमुख अतिथि महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसे, विशिष्ठ अतिथि डा.उपेन्द्र महतो र अर्का विशिष्ठ अतिथि देवमान हिराचनले संबोधन गरेकाथिए । बैठकको उदघाटन समारोहका अन्य अतिथिहरुमा संघका संरक्षक परिषदका सदस्य रामप्रताप थापा, संघका उपाध्यक्ष जीवा लामिछाने, संघका अन्तर्राष्ट्रिय कमिटिका सल्लाहकार तथा संघका यूकेका संरक्षक प्रो सूर्य सुवेदी, संघका यूरोपीय संयोजक क्या. हितमान गुरुङ, संघका एशिया प्यासिफिक क्षेत्रका संयोजक गणेश इजम, संघका लिवियाका अन्तर्राष्ट्रिय कमिटिका सदस्य प्रकाश पुन, संघका बेल्जियमका अध्यक्ष पीजी शेर्पा र संघका बेल्जियमका महिला प्रतिनिधि अनुजा प्रधान थिए । उदघाटन समारोहको अध्यक्षता संघका यूकेका अध्यक्ष सूर्य गुरुङ, सञ्चालन कोअर्डिनेटर भक्त गुरुङ, स्वागत मन्तव्य उपाध्यक्ष महेन्द्र कँडेल र अर्का उपाध्यक्ष कूल आचार्यले कार्यक्रमको अन्त्यमा धन्यवाद दिएका थिए ।

उदघाटन समारोहपछि बैठकमा विभिन्न विषयगत सेसनहरु आयोजना गरिएको थियो । जसअनुसार पहिलो सेसनमा सहभागी सम्पूर्ण संघसंस्थाहरुको संक्षिप्त परिचय गरिएको थियो । जसमा सबै संघसंस्थाका अध्यक्षहरुले आ-आफ्नो संस्थाको छोटो चिनारी र संस्थाले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए । दोस्रो सेसनमा “गैर-आवासीय नेपाली संघको विगत, वर्तमान र भविष्य” विषयमा अध्यक्ष देवमान हिराचनले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त सेसनलाई क्या. हितमान गुरुङ्गको संयोजकत्वमा डा. हेमराज शर्मा, चिरञ्जिवी ढकाल, गणेश इजम र विजय थापा रहेको प्यानलले सञ्चालन गरेका थिए । अध्यक्ष हिराचनले गैर-आवासीय नेपाली संघको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । उनले सेसनमा यही अक्टोवर ११ मा पोखरामा आयोजना हुन गई रहेको गैर-आवासीय नेपाली दिवसमा सहभागी हुन सबैलाई निमन्त्रणा दिए ।

बैठकको अर्को सेसनमा “गैर-आवासीय नेपाली संघको सुदृढिकरण; समृद्धशाली मातृभूमिको निर्माण” विषयमा प्रमुख संरक्षक डा.उपेन्द्र महतो र उपाध्यक्ष जीवा लामिछानेले कार्यपत्र पेश गरेका थिए । यो सेसनको सञ्चालन डा. चन्द्र लक्सम्वाको संयोजकत्वमा डा. पदम सिंखडा, डा. अरुण झा, खगेन्द्र नेपाली, किशोर सापकोटा र राजन कँडेल रहेको प्यानलले गरेको थियो । कार्यपत्र प्रस्तोताहरुले समृद्ध नेपाल बनाउने काममा गैर-आवासीय नेपालीहरुको योगदानको वारेमा चर्चा गरेका थिए । बैठकको पाँचौं सेसनमा “दोहारो नागरिकताको अधिकार, राष्ट्रिय एकता र जिम्मेवारीको विस्तार” बिषयमा संरक्षक रामप्रताप थापाले कार्यपत्र पेश गरेका थिए । सो सेसनको सञ्चालन प्रो.सूर्य सुवेदीको संयोजकत्वमा क्या. हितमान गुरुङ, राजु थापा, लक्ष्यबहादुर गुरुङ, डा.चन्द्रबहादुर गुरुङ, शिवजी श्रेष्ठ र केशबहादुर गुरुङले गरेका थिए । उक्त सेसनमा कार्यपत्र प्रस्तोता रामप्रताप थापाले गैर-आवासीय नेपाली संघको दोहोरो नागरिकतासम्बन्धी अवधारणापत्र पेश गरेका थिए । उनले गैर-आवासीय नेपाली संघले अघि सारेको एकपटकको नेपाली सँधैको नेपाली बन्ने अधिकारलाई कुण्ठित नपार्ने गरी गैर-आवासीय नेपालीहरुलाई नागरिकताको व्यवस्था गराउन नेपालमा कुराहरु अघि बढेको बताए । उनले नेपालको हालको राजनीतिक गतिरोध अन्त्य भई संविधान निर्माण प्रकृया अघि बढ्नासाथ प्रतिनिधिमण्डल गई नेपालका सम्बन्धित पक्षहरुसँग निर्णायक चरणमा कुराहरु हुने बताउनुभयो । हलमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले दोहोरो नागरिकता आफ्नो अधिकार भएकोले नेपालले यस कुरालाई अब बन्ने संविधानमा नै उल्लेख गर्नुपर्ने कुरालाई एकमतले समर्थन जनाएका थिए ।

कार्यक्रमको अर्को सेसनमा गैर-आवासीय नेपाली संघ यूकेको विगत, वर्तमान र भावी कार्यक्रमहरु र गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको गठन वारेमा संघका अध्यक्ष सूर्य गुरुङले कार्यपत्र पेश गरेका थिए । यस सेसनको सञ्चालन यूकेका पूर्व अध्यक्ष रि.मे. डमर घलेको संयोजकत्वमा संघका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, चण्डिका राई, सुवास अधिकारी, डा.कृष्ण अधिकारी, र थर्क सेन रहेको प्यानलले गरेको थियो । बैठकको यस सेसनले संघको विधानबमोजिम राष्ट्रिय परिषदको गठन पनि गरेको छ । यही सेसनले नेपाल हाउसको परियोजनालाई अघि बढाउने, बेलायतको आगामी वर्ष हुने राष्ट्रिय जनगणनामा नेपालीहरुले उल्लेख्य जनसहभागिता जनाउने जस्ता विषयहरुमा एकमतले अघि बढ्ने निर्णय पनि गरेको छ ।

कार्यक्रमको अर्को महत्वपूर्ण सेसन “नेपालको आर्थिक कुटनीति र नेपाल भ्रमण वर्ष २०११ मा गैर-आवासीय नेपाली र नियोगहरुको भूमिका” विषयमा महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसे र प्रो सूर्य सुवेदीले कार्यपत्र पेश गरेका थिए भने लेसोथोमा रहेका संरक्षक परिषदका सदस्य भीम उदासको लिखित कार्यपत्र बैठकमा पढेर सुनाइएको थियो । डा. राघव धितालको संयोजत्वमा रनबहादुर के.सी., दिनेश घिमिरे, विजन भट्ट, भाग्यनारायण राय, सुमन खरेल र ध्रुव के.सी. रहेको प्यानलले यो सेसनको सञ्चालन गरेको थियो ।

संघको विधानानुसार प्रत्येक दुर्इ वर्षमा आयोजना हुने यस कार्यक्रममा संघका यूकेका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी २५० जनाको सहभागिता रहेको थियो । -भक्त