नङ्ग्याउनुपर्छ ‘निलुफुले’हरूलाई

नङ्ग्याउनुपर्छ ‘निलुफुले’हरूलाई


-वसन्तराज कुँवर
यो हप्ता सुडान घोटालामा नाम आएका पूर्वसचिव उमेश मैनाली र पूर्वप्रहरी प्रमुख ओमविक्रम राणाको अन्तर्वार्ताहरू जनसमक्ष आए । सुडान घोटाला नेपालमा मात्र नभई संसारमै चर्चा कमाएको भ्रष्टाचारको सत्य कथा हो । त्यसका नायकहरू भनाँै या खलनायक कृष्णप्रसाद सिटौला, उमेश मैनाली र ओमविक्रम राणाले पनि राम्ररी चर्चा पाएका छन् । यस्ता चर्चित पात्रहरू जब यस्तो चर्चित भ्रष्टाचार काण्डको साक्षी भएर केही कुरा बोल्न मिडियामा आउछन् तब जनतालाई रमाइलो र कुतूहल लाग्नु स्वाभाविकै हो । मैले पनि त्यो अन्तर्वार्तालाई चाख मानेर सुने, हेरेँ । त्यो हेर्दा मलाई लाग्यो वास्तविक जीवनका यी खतरनाक खलनायकहरू टीभीको पर्दामा नायक भएर पेस हुन खोजेझैं देखिन्थ्यो तर दर्शकहरूलाई त्यो अभिनय पचिरहेको थिएन ।
मैले आफ्नो प्रहरी जागिरको अन्तिम दिनहरूमा यी खलनायकहरूलाई नजिकबाट हेर्ने मौका पाएको थिएँ । यी सबै खलनायकहरू बहुतै मीठो बोल्दछन् । कुरा गर्दा यस्तो लाग्छ कि यी देशका सबैभन्दा असल मान्छे होलान् । कुरा गर्दा यस्तो लाग्दछ कि यिनीहरू वास्तवमै युधिष्ठिर वा रामचन्द्रभन्दा दयालु र आदर्श छन् तर यथार्थमा यी सबै सन् १९८० तिरको भारतीय चलचित्रमा देखापर्ने एक खतरनाक खलनायकझैं काम गर्दछन् जस्को नाम ‘निलुफुले’ थियो । त्यस समय निलुफुले भन्ने गहुँगोरो वर्णको आँखा र ओठ ठूला-ठूला भएका, बंगालतिरको एउटा अधबैंसे खलनायक थियो । त्यसको आँखाहरू राताराता थिए । उसलाई बढी रक्सी मन पर्दथ्यो । त्यो खलनायक भएकोले नायकहरूलाई र नायिकाहरूलाई खुव दुःख दिन्थ्यो, तर उसको दुःख दिने शैली अरू खलनायकहरूको भन्दा बिल्कुलै फरक थियो । ऊ आक्रामक भएर ठूलाठूला स्वरमा गाली गर्थेन । उसले डेनी वा अमरिस पुरीले झैं हातगोडाले हिर्काउने पनि गर्थेन । ऊ केवल रक्सी पिउँथ्यो र खाली भित्रभित्र खुराफात सोचिरहन्थ्यो । मन नपरेकी बुहारीहरू मार्न परे थाहा नपाउने गरी उम्लिरहेको दूधमा माउसुलो हालिदिन्थ्यो र झुक्काएर ख्वाउँथ्यो । झुटो चोरीको आरोप लगाउन आफैं चोरेर अरूको दराजमा सामान राखिदिन्थ्यो । फिल्मका नायकनायिकाहरूलाई निलुफुलेमाथि कहिले शङ्कासमेत हुन्थेन किनकि उसले बाहिरबाट आफू तिनका विरोधी भएको कहिल्यै देखाउँथेन । ऊ शान्त सभ्यझैं देखिएरै भित्रभित्र धेरैलाई नास गथ्र्यो । जति नास गरे पनि अन्तमा एक दिन सिनेमा सकिने बेलामा निलुको कर्तुत सबैलाई थाहा हुन्थ्यो र त्यस समयमा पनि ऊ चुपचाप शान्त भएरै आफ्नो प्रतिकार गथ्र्यो । हिरोको कुटाइ खाइरहँदा पनि उसले वचन फर्काउँथेन । अचम्मको थियो त्यो निलुफुले खलनायक त्यसबेला ।
शायद अहिले निलुफुले मरिसके कि क्या हो, अहिले सिनेमामा म तिनलाई देख्दिनँ तर यस हप्ता सिटौला, ओमविक्रम र उमेश मैनालीलेे सुडान काण्डसम्बन्धी बोल्दै गरेको अन्तर्वार्ता र अनुहार हेर्ने मौका पाएपछि भने मलाई लाग्यो निलुफुले नेपालमै रहेछन् । यी तीनैजना मिष्टर उमेश मैनाली, ओमविक्रम र कृष्णप्रसाद सिटौलाको व्यवहार ठ्याक्कै त्यस्तै छ जुन १९८० तिरको निलुफुलेको हुन्थ्यो । भलाद्मी अनुहारमा खतरनाक अपराध गर्ने र त्यसलाई हाकाहाकी लुकाउन सक्ने खुबी यी तीन निलुफुलेहरूमा प्रशस्त देखिन्छ । वास्तवमै जसलाई सुडानको भ्रष्टाचारमा निलुफुलेहरूको असली करामत थाहा छैन तिनीहरू यिनीहरूको अन्तर्वार्ता र नाटकबाट भ्रमित पनि हुन सक्छन् ।
सुडान काण्डका प्रमुख निलुफुले नं. १ मिष्टर कृष्णप्रसाद सिटौलाले त मलाई सुडानबारे थाहा छैन त्यो कुरा प्रहरीलाई सोध्नु भनेर पहिल्यै पन्छिन खोजेको देखेँ । द्वितीय निलुफुले मैनालीजीले आफूलाई कसैले गुनासो नगरेकोले यसबारेमा केही थाहा नभएको बताई प्रहरीमाथि दोष थोपरी ओभानो हुन खोजेको देखियो । तेस्रो निलुफुले मिष्टर ओमविक्रम पनि के कम उनले त आफूपछिका आईजीपीहरू र बिचरा श्यामसिंह थापा, दीपक श्रेष्ठ, दीपक थाङदेनजस्ता गाई प्राणीहरूलाई दोष लगाएर करोडौं कमिसन निलुफुले काइदाबाटै पचाउन खोजेको पाएँ । तर, चौबीस वर्ष प्रहरीमा रहेको अनुभव र यी तीनै नीलुहरूलाई नजिकबाट चिनेका कारण म ठोकेरै भन्छु यी खुराफातहरूले बाहिर जे बोले पनि जे-जस्तो नाटक देखाए पनि जसरी षड्यन्त्र गरे पनि सुडान घोटालाको योजना गर्नेदेखि लिएर सबैभन्दा बढी कमिसन थन्क्याउने यिनै तीन निलुफुलेहरू हुन् । यिनका कुरा सुन्नतिर लाग्नुभन्दा पनि सम्पत्ति छानबिन गर्न सुरु गर्नुपर्छ ।
अब केही दिनपछि मलाई लाग्छ यी तीन निलुहरूबीच फुट आउनेछ किनकि यी तिनै निलुहरू खतरनाक छन् र जहाँसम्म मिलेर जान सकिन्छ त्यहाँसम्म यिनीहरू सँगै जानेछन् र जहाँनिर आफूलाई अप्ठ्यारो पर्छ त्यहाँनिर एक निलुले अर्को निलुलाई फसाउन कोसिस गर्नेछन् । निलु-निलुको त्यो लडाइँ पनि हेर्न मजा आउनेछ । यिनीहरूले संविधानदेखि लिएर कानुन र आर्थिक नियमसमेत कण्ठ पारेर आफूलाई बचाउ गर्ने छन् । आफूभन्दा तल्लो कर्मचारीहरूलाई बलि चढाएर जोगिन प्रयास पनि गर्नेछन् । अझ यदि अहिलेको प्रहरी महानिरीक्षकलाई पनि मुछिदिन पाए उनी पनि अख्तियारको कारबाही रोक्न लाग्नेछन् र त्यसबाट आफूहरूलाई पनि जोगिन मद्दत मिल्न सक्छ भन्ने पनि निलु षड्यन्त्रको एक रणनीति हुनेछ । म हेर्दै छु यी फुलेहरू कतिसम्म सँगै जान सक्लान् र कहाँ गएपछि एउटाले अर्कोलाई नङ्ग्याउन अघि र्सलान् ? त्यो नङ्ग्याउने चाल कस्तो हुनेछ त्यसलाई हेर्न म ज्यादै उत्सुक भएर प्रतीक्षा गरिरहेको छु । त्यो क्षण वास्तवमै अख्तियारका लागि पनि भ्रमपूर्ण हुनेछ किनकि अहिले अख्तियारको पाला साँच्चिकै नेपालका तीन यस्ता निलुफुलेहरूसँग परेको छ जसले बोली, व्यवहारबाट आफू भगवान् रामचन्द्र भएझैं देखाउनेछन् र अख्तियार पनि यिनीहरू भगवान् नै रहेछन् कि क्या हो भनी झुक्किएर तिनकै पाउको जल पिएर तिनलाई नै पूजा गरी वरदान मागेर अझ घरसम्म सम्मानजनक रूपले पठाइदिन पनि बेर नलगाउन सक्छ । त्यो भने हेर्न बाँकी छ ।
जहाँसम्म प्रहरी कल्याण कोषको रकममा करोडौं भ्रष्टाचार भएको घटना छ त्यसमा अब कसैलाई शङ्का छैन । अहिले तीनवटै निलुफुलेहरूले त्यसमा भ्रष्टाचार नभएको कुरा अगाडि राखेका छैनन् । फुले नं. १ कृष्णप्रसाद सिटौलाले रुवेल चौधरीलाई बयान लिन गएका प्रहरीहरूलाई मण्डिखटारमा रोकी चौधरीको पीएझैं भई उनको तर्फबाट दिएको बयान डार्फकाण्डकै सुरक्षाका लागि रहेछ भनेर प्रमाणित भइसकेको छ । रुवेल चौधरी सार्वजनिक समस्यामा पर्दा सुडानकाण्ड पनि सार्वजनिक हुने उनलाई थाहा छ किनकि त्यो काण्डमा लगभग सात करोड कोइराला परिवारमा गएको छ भन्ने चर्चा पहिल्यैदेखि बजारमा छ र त्यो रकम कोइराला परिवारमा लैजाने काम निलुफुले नं. १ सिटौलाले नै गरेका हुन् भन्ने पनि आमचर्चा छ । सिटौलाले यो केसलाई अख्तियारबाट छानबिन हुन गिरिजाप्रसाद कोइरालालाई लगाई त्यसबखत रोकेकै हुन् । उमेश मैनाली जसलाई यहाँ नं. २ निलुफुले भनिएको छ तिनी मन्त्री र आईजीपीले गरेका हरेक अपराधमा संलग्न छन् नत्र सिटौलाले तिनलाई त्यो पदमा राख्दै राख्थेनन् र उनलाई यही काण्डको रक्षा गर्न अख्तियार प्रमुख बनाई पठाउन खोज्दै खोज्थेनन् । ओमविक्रम राणा जसलाई यहाँ नं. ३ निलुफुलेको रूपमा लिइएको छ तिनको औकात के थियो भन्ने कुरा मलगायत त्यस समयका सबै प्रहरीलाई थाहा छ । उनले सुडानमा ४२ करोडको सामान पठाउने त के कुरा एउटा सिपाही पनि पठाउन सक्दैनथे । त्यहाँ पठाउने सिपाहीको नाम पनि उनले निलु नं. १ बाट आएका नामलाई नै पठाउँथे । आफ्ना अपराध लुकाउन त्यसबखत पत्रपत्रिकालाई काठमाडौंबाट पैसा उर्ठाई मासिक वितरण गर्ने व्यवस्था पनि मिलाउँथे । अझ पत्रकारलाई खुसी राख्न यूएन मिसन जाने कोटा पनि दिन्थे । यो कुरा हरेक प्रहरीहरूलाई घामजस्तै र्छलङ्ग गरी थाहा छ । त्यस समय गरेका अपराधहरूमा नकारात्मक प्रचारबाट जोगिन यी निलुफुलेहरूले जतिसुकै प्रयास गरे पनि तिनको अवस्था माथि कम्बल ओडेर तल्लो भाग नाङ्गै भएझंै मात्र थियो । प्रहरी अधिकृतहरूसामु ती निर्वस्त्र नै हुन्थे ।
समय आएको छ अख्तियारले इतिहासमा एउटा राम्रो काम गर्ने अवसर पाएको छ । कुनै समय अख्तियार भनेको र्सर्ूयनाथजस्ता नाटककारको नेतृत्वमा पापी काम गर्ने अखडा मात्र थियो । त्यो अवस्थाको अख्तियार देख्ने जिउँदो साक्षी म पनि हुँ । यदि भगवान् भन्ने छन् भने त्यसबेलाको पाप र्सर्ूयनाथ र तिनका मतियारले आउने दिनमा भोग्नै नै छन् भन्ने मलाई विश्वास छ । खरदार, सुब्बा वा षड्यन्त्रकारीहरूको स्वार्थमा परेका उजुरीहरूमा हात हाली अख्तियारको साख बच्दैन । वास्तविक अपराधीहरू निलुफुलेहरूजस्ता हुन् । यो मुलुकको माथिल्लो तहमा रहेर तिनीहरू देश चुसिरहेका छन् । सिटौलाको सिफारिसमा अख्तियार पुग्ने आयुक्तहरू वा पैसा बुझाएर आयुक्त भएका व्यक्तिहरू वा पार्टीको झन्डा बोकेर ढोकाढोका चहारी आयुक्त भएकाहरू वा अझै पैसा कमाउन आयुक्त भएकाहरूबाट यो देशका निलुफुलेहरूमाथि कारबाही हुन सक्दैन । आयुक्त नै यदि र्सर्ूयनाथजस्ता हावादारी र नाटककार पुगे भने त्यहाँ सबैभन्दा ठूलो अख्तियारको दुरुपयोग त्यही संस्थाबाट हुनेछ जुन इतिहासमा प्रमाणित भइसक्यो । तर, अहिले शायद कर्मचारीहरू मात्र भएर होला अख्तियारले केही राम्रा काम गर्न खोजेको देखिन्छ । हामी पनि सत्य उजागर गर्न साथ दिनेछौँ । यस काण्डमा संसद्का सदस्यहरूले नै प्रमाण जुटाइदिएका छन् । वास्तवमै प्रहरीको रगत-पसिनाबाट बनेको त्यो रकम निलुफुलेहरूलाई दुरुपयोग हुन दिनुहँुदैन । यस काण्डमा प्रत्यक्ष नदेखिए पनि सबैभन्दा ठूलो हिस्सा खाने केही पूर्वप्रहरी प्रमुख र एआईजी पनि छन् जसलाई अख्तियारले चिनोस् र जनसमक्ष देखाओस् । मलाई लाग्छ यी तीन निलुफुलेहरू अन्त आएको पनि हुन सक्छ वा नआएको पनि हुन सक्छ । नआएको हो भने हामीले बुझ्नुपर्छ समाजमा तिनले अझै धेरै षड्यन्त्रकारी काम गर्ने छन् र धेरै निर्दोषलाई अझै दुःख दिनेछन् । समाजको सुरक्षाका लागि पनि नङ्ग्याउनुपर्छ यी ३ निलुफुलेहरूलाई ।