सुन्दरबजार बस्तीनजिक जमिनबाट धुवाँ

सुन्दरबजार बस्तीनजिक जमिनबाट धुवाँ


लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका¬–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो ।

स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका समाचार राससले सम्प्रेषण गरेको छ । बताइएअनुसार गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको छ । विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने गरेको स्थानीइको भनाई छ ।

सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । स्थानीयवासीले भेला भई सुरक्षा र आवश्यक जाँचबुझका लागि निवेदन दिएका हुन् ।

घटनाबारे छानबिनका लागि गृहमन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए । जानकारी पाएसँगै आफूले पनि स्थलगत अवलोकन गरेको उनको भनाई छ । आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएको छ । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिनभित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने आशङ्का गरिएको छ ।

वर्षौंदेखि वरपर जमिनमा कुनै पानीको मूल नभएको र जमिन सुख्खा भएकाले पानी वा चिस्यानको बाफ नभई जमिन भित्रको तातोको धुवाँ हुनसक्ने स्थानीयवासी कृतिनाथ सापकोटाले बताउनुभयो । दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ ।