विश्वब्यापी रेडियो कविता प्रतियोगिता प्रसारण हुँदै

विश्वब्यापी रेडियो कविता प्रतियोगिता प्रसारण हुँदै


लण्डन । बीएफबीएस गोर्खा रेडियो यूकेले आयोजना गरेको तेश्रो विश्वब्यापी रेडियो कविता प्रतियोगिता सन् २०१० प्रसारणको तयारीमा पुगेको छ । यो वर्षको प्रतियोगितामा वेलायत, हङकङ, अपगानिस्थान, नेपाल, मलेसिया, ब्रुनाइ, जापान, अष्ट्रिया र बहराइन गरी जम्मा ५२ जना प्रतियोगीहरुले सहभागिता जनाएका छन् । जसमा नेपालबाट सबैभन्दा बढी २० जनाको सहभागिता रहेको छ ।

यो प्रतियोगिता दुर्इ हप्तासम्म क्रमशः अक्टोबर महिनाको बुधवार १३ तारिख, बिहीवार १४ तारिख र शुक्रवार १५ तारिख र पुनः प्रसारण अक्टोवर महिनाको २० तारिख बुधवार, २१ तारिख बिहीवार, र २२ तारिख शुक्रवार बेलुकि पाँच बजेर दश मिनेट जाँदा गरिने छ । साथै, अन्तिम प्रसारण अक्टोवर तीस तारिख शनिवार तीन घण्टा बेलुकि क्रमशः चारबजेदेखि सात बजेसम्म गरिने छ ।

यो प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई चाम्स् फिल्मस् प्रोडक्सनद्वारा प्रायोजित अवार्ड, प्रमाणपत्र, बीएफ्बीएस् चिन्ह अंकित पुरस्कार र लण्डन कलेज अफ् इन्जिनियरिङ एण्ड म्यानेजमेन्टद्वारा प्रायोजित नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै, द्वितीय र तृतीय हुने प्रतियोगिलाई पनि बीएफ्बीएस् चिन्ह अंकित पुरस्कार, प्रमाणपत्र र लण्डन कलेज अफ् इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टद्वारा नै प्रायोजित नगत क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

चाम्स् फिल्मस् प्रोडक्सनद्वारा अवार्डचाँहि प्रत्येक वर्षको विजयी प्रतियोगीलाई रनिङ शिल्डको रुपमा हरुतान्तरण गरिँदै जानेछ । यदि यूके बाहिरको प्रतियोगीले जितेमा भने, उक्त अवार्डमा विजयी प्रतियोगीको नाम लेखेर, बीएफ्बीएसमै अर्को वर्षसम्म राखिने छ । यो वर्ष एकजना प्रतियोगीलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिने निर्णय गरिएको छ ।
-योगराज राई