ऐक्यवद्धता पर्व "मानिफिएस्टा" सम्पन्न

ऐक्यवद्धता पर्व "मानिफिएस्टा" सम्पन्न


लण्डन । हरेक वर्षझैं ब्रसेल्सको भी.यू.बी. विश्वविद्यालयमा केन्द्रीकृत हुँदै मई दिवसको कार्यक्रम मनाउँदै आएको बेल्जियमको वर्कर्स पार्टीले यस वर्ष क्रमभङ्ग गरी देशका विभिन्न शहरमा अन्य राजनीतिक दलहरु तथा मजदुर संगठनहरुसँग एकाकार भई मई दिवस मनायो । तर यस वर्षदेखि देशका सबै क्षेत्रहरुलाई केन्द्रीकृत गरी उच्च प्रकृतिको नयाँ स्वरुपको ऐक्यवद्धतापर्व कार्यक्रमको थालनी गर्‍यो । शनिवार, २५ सेप्टेम्वर, २०१० का दिन बेल्जियमको गर्मीयामको पर्यटकीय स्थल समुद्री किनारमा अवस्थित ब्रेदेनेमा प्रतिकुल मौसमको चुनौती सामना गर्दै ऐक्यवद्धता पर्व “मानिफिएस्टा” कार्यक्रम ६००० मानिसहरुको सहभागितामा सम्पन्न भयो । प्रवेश शुल्क दश यूरोमा नै विभिन्न स्थानबाट आउने सहभागीहरुको लागि बससेवा उपलब्ध थियो । सो कार्यक्रममा पुस्तक प्रदर्शनी, राजनीतिक बहस, किन्डर पाराडाइज, म्युजिक कन्सर्ट, चलचित्रहरुको प्रदर्शन, विभिन्न महादेशका स्वादिष्ट परिकारका खानाका स्टलहरु, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि संचालन भएका थिए ।

कार्यक्रमको लागि आवश्यक करिव ४० पालहरु शुक्रवार सम्ममा निर्माण भइसकेका थिए । सोही दिन साझमा चलेको हुरी बतासका कारण आधाजसो पालहरु हावाले उडाएकाले आयोजकहरुलाई कार्यक्रम नै स्थगित गर्ने कि भन्ने अवस्थामा पुर्‍याएको थियो ।

पुस्तक प्रदर्शनीमा नेपालका तर्फबाट नेपाली जनयुद्धमा गरेका कार्यहरु तथा अनुभूतिहरुको बारेमा लेखिएका दुर्इ पुस्तक सामेल थिए । जनमुक्ति सेना नेपालका प्रमुख पासाङले लेखेका पुस्तक “रेड स्ट्राइड अफ दि हिस्टोरी” तथा जनादेश साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धितालले लेख्नुभएको “दि फाइनल डेज् अफ दि पिपुल्स् वार” रहेका थिए ।

उक्त कार्यक्रममा एसिया महादेशको प्रतिनिधित्व गर्ने नेपाली स्वादिष्ट खानाको स्टलसमेत संचालित थियो । त्यसको अगुवाइ विगतमा द्वन्द्व निर्देशकको भूमिका निभाएका तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका यूरोप इन्चार्ज बीरमान घर्ती मगरले गरेका थिए भने उनलाई चलचित्र निर्देशक तथा नायक विशाल विष्ट, विश्व मगर संघ, बेल्जियमका उपहार बूढा मगर, नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका सल्लाहकार डिल्लीराम भण्डारी, उनकी श्रीमती मैयादेवी भण्डारी तथा मञ्चका सदस्य रमेश कार्कीले सहयोग गरेका थिए । नेपाली स्टलबाट करिव ३०० यूरोपियनले नेपाली पकौडाको स्वाद लिएका थिए । यसमा सबै नेपालीले निःशुल्क सेवा गरेका थिए । कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका पूर्व अधक्ष्य बिष्णु भुजेल, मञ्चका महासचिव प्रेम पाठक तथा नेपाली जनजाति सरोकार मञ्च, यूरोपका अधक्ष्य रामबहादुर गुरुङ्गको पनि उपस्थिति थियो ।

वास्तवमा यो विश्वमा दरिद्रतालाई चुल्याउँदै अरुचिको विषय बन्दै गइरहेको साम्राज्यवाद तथा विस्तारवादका विरुद्धको आन्दोलनलाई थप उचाइमा उठाउने तथा समाजवादी आन्दोलनलाई अग्रगति दिने उद्देश्यले “मानिफिएस्टा” कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रमको आयोजना बेल्जियमको वर्कर्स पार्टीसँग आवद्ध चिकित्सकहरुको संघ “गेनेजकुण्डे फोर हट फोल्क” तथा पार्टीको मुखपत्र “सोलिडिएर” साप्ताहिकदवारा भएको हो । बेल्जियमका प्रमुख दुर्इ ट्रेड युनियनहरु एबीभीभी तथा एसीभीलगायत अन्य २१ संघसंस्थाहरु कार्यक्रमका प्रायोजक रहेका थिए ।

उक्त कार्यक्रममा, विश्वको क्रान्तिकारी प्रतिमा भनेर परिचित बहुप्रतिभाशाली व्यक्तित्व डा. अर्नेस्टो चे ग्वेभाराको जेष्ठ सुपुत्री, मानव अधिकारको प्रवक्ता तथा बालरोग विशेषज्ञ डा. अलैदा ग्वेभारा प्रमुख अतिथि थिए । उनी मानव अधिकारका विषयमा तथा समाजवादी ऐक्यवद्धता आन्दोलनका कार्यक्रमका लागि विश्वका विभिन्न देशहरुमा भाग लिँदै आएका छन् । उनले आफ्नो मन्तव्यको क्रममा भने- यसमा मध्येनजर गर्दा समाजवाद काम लाग्दैन भन्ने विदेशी मिडियाको गलत प्रभाव छ । अन्य वक्तहरुमा ट्रेड युनियनहरु एबीभीभीका प्रमुख इडि भान लान्केरले बुधवार, २९ सेप्टेम्वर २०१० मा ब्रुसेल्समा हुने युरोपियन प्रदर्शनमा सहभागी हुन आव्हान गरेका थिए । अर्का एसीभीका टोनी डेमोन्टेले मजदुर हक हितका विषयमा आफ्ना धारणाहरु राखेका थिए ।-दामोदर प्रसाद आचार्य, बेल्जियम