पञ्चासे समाज यूकेको साधारण सभा

पञ्चासे समाज यूकेको साधारण सभा


अल्डरशट, यूके । हिजो शनिवार अपरान्ह अल्डरशटको स्पाइस जोन्स रेस्टुरान्टमा पञ्चासे समाज यूकेले साधारण सभाको आयोजना गरेको थियो । समाजको उपाध्याक्ष सुमल कुमार गुरुङको अध्यक्षतामा सम्पन्न सो साधारण सभालाई समाजका सचिव आर कुमार गुरुङले संचालन गरेका थिए । समाजका नयाँ सदस्यहरुलाई परिचय दिंदै शुरु गरेको कार्यक्रममा विभिन्न विषयहरुमाथि व्यापक छलफल गरिएको थियो । भर्खरै शुभविवाहको लगन गाँठोमा बाँधिएका समाजकेा सदस्य मैतालाल गुरुङ र उनका धर्मपत्नी इन्द्र गुरुङलाई समाजका वरिष्ठ सदस्य धनबहादुर गुरुङका करकमलबाट खादा ओढाएर शुभकामना दिँदै सम्मान गरेका थिए । सो अवसरमा सुमल कुमार गुरुङले समाजको तर्फबाट नवदम्पतीलाई शुभकामना दिँदै छोटो मन्तव्य प्रकट गरेका थिए । बेलायतमा बसाइ सराइ गर्दै आउने क्रम जारी रहेकोले नयाँ आएका समाजका नवसदस्यहरुको नामावली, सम्पर्क नम्बर तथा ठेगानाको अभिलेख समाजका सचिव आर कुमार गुरुङले दर्ता गर्दै सभालाई अघि बढाइएको थियो । समाजको कोषबारे सहायक कोषाध्याक्ष नमुराजा गुरुङले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । पंचासे पर्यटकीय नगर पोखराको शिरानमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल हो । पंचासे नेपालको तीनवटा जिल्लाहरु क्रमशः कास्की, पर्वत र स्याङजाको सिमानाले छोएको अति सुन्दर धार्मिक स्थान हो जुन ठाउँबाट अन्नपूर्ण हिमश्रृंखला, धवलागिरी, माछापुछ्रे र कोसौं टाढासम्मको विश्वको सबैभन्दा सुन्दरतम प्राकृत्तिक दृष्यावलोकन गर्न सकिन्छ । पंचासे समाज यूकेको स्थापना हाल यूकेमा आएर बसेका पंचासेका वरिपरिका बासिन्दहरुबाट स्थापना गरिएको हो । यो समाज छोटो अवधिमा नै आफ्नो उद्धेश्यअनुरुप गति लिएर अघि बढ्दै गएको छ ।
विविध विषयहरुमा छलफल गरे पश्चात सभाले आगामी २३ आप्रिल २०११को दिनमा समाजको पहिलो महाअधिवेशन सम्पन्न गरिने विषयमा निर्णय गरियो । यसैबीच हाल अल्डरशट निवासी समाजका सहायक कोषाध्याक्ष नमुराजा गुरुङको १८ वर्षीय सुपुत्री सृष्टि गुरुङले हाल सम्पन्न हुन गइरहेको मिस नेपाल यूकेको प्रतियोगितामा भाग लिन गइरहेकी कुरा प्रकाश पारेका थिए । यस खबरले समाजका सबै सदस्यहरुलाई खुशी लाग्नुको साथै सम्पूर्ण पंचासे समाज तथा शुभचिन्तकहरुबाट सृष्टीको मनोबल उँचो बनाउन तथा सो प्रतियोगितामा सफलता प्राप्त गरुन भनेर सबैले शुभकामना व्यक्त गरेका थिए । आफूलाई विजय बनाउनको लागि सबै पक्षलाई सृष्टि गुरुङले आपिल गरेकी छिन् । अब अर्का वर्षको वाषिर्क भेला ३ सेप्टेम्बर २०११को दिनमा तमू धीं युके, मिचेटमा सम्पन्न गर्ने निर्णय गरेपछि, टिपन टापन तथा दिनको दिवाभोजपश्चात साधारण सभाको विसर्जन भएको थियो । -सुमल, मेस ।