महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण

महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण


महाकाली नदीले प्रभावित पार्ने क्षेत्रमा जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

सोमबार डडेल्धुरामा महाकाली नदीले प्रभाव पार्ने र जोखिम न्यूनीकरण गर्नका लागि प्रभावमा परेका चार जिल्लाका कर्मचारीलाई डडेल्धुरामा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ ।

नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाअन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमले विपद् व्यवस्थापन एवं पानीसम्बन्धी सरोकारका विषयमा जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला प्रशासन एवं सम्बन्धित नगरपालिका एवं गाउँपालिकासँग आवश्यक सहकार्य गरेमा कार्यक्रम थप प्रभावकारी हुनुका साथै आगामी दिनमा कार्यक्रमले सफलताका लागि सरोकारवालासँग समन्वयात्मक कुरामा जोड दिनुपर्ने विचार कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी जनकराज जोशीले व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक एवं संस्थासँग सम्बद्ध व्यक्ति एवं सरोकारवालाको उपस्थिति रहेको थियो ।

महाकाली नदी प्रभावित चारवटा जिल्ला – दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका परियोजनासम्बद्ध कर्मचारीलाई आगामी दिनमा सञ्चालन गरिने विभिन्न कार्य सहजताका लागि तीनदिने क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

महाकाली सीमा क्षेत्रका संकटग्रस्त बस्तीमा सञ्चालन गरिने पैरवी एवं समन्वयमूलक यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन क्षमता अभिवृद्धि आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी गराए ।

महाकाली नदी प्रभावित क्षेत्रमा पर्ने दार्चुला जिल्लाअन्तर्गतका ब्यास, दुहु, लेकम, मालिकार्जुन गापा र महाकाली नपा, बैतडी जिल्लाअन्तर्गतका शिवनाथ, पञ्चेश्वर गापा र दशरथचन्द नपा, डडेल्धुरा जिल्लाअन्तर्गत परशुराम नपा र कञ्चनपुर जिल्लाअन्तर्गतका महाकाली र भीमदत्त नपामा आगामी पाँच वर्षसम्म सञ्चालन गरिने यस कार्यक्रमका चारवटै जिल्लामा छुट्टाछुट्टै साझेदार संस्था– दार्चुलामा संकल्प, बैतडीमा रुडेस, डडेल्धुरामा रुडुक र कञ्चनपुरमा निड्स रहेको कुरा कार्यक्रम अधिकृत अमर साउदले जानकारी गराए ।

ट्रोसा कार्यक्रम चारवटै जिल्लामा महाकाली नदीले प्रभाव पार्ने क्षेत्रमा लागू हुने सरोकारवाला संस्थाले जनाएको छ । राससलाई जनाइएअनु्सार उक्त अवधिमा जोखिमलाई न्यूनीकरण गर्न महाकाली नदीले मानव बस्ती र अन्य क्षेत्रलाई पार्ने प्रभावलाई कम गर्दै लैजाने जनाइएको छ ।