[कविता]दशैँ !-बिष्णुनन्द चाम्लिङ

[कविता]दशैँ !-बिष्णुनन्द चाम्लिङ


यताउता चारैतिर हेर्दे
घुर्र्‍यानको एकछेउमा
दशाको पोका खोल्दै
सबैलाई भागवण्डा लगाइरहेछ दशैँ

हरेक साल
बालबालिकाहरुको मनमा
उमङ्ग लिएर आउने दशैँ
अभिभावकहरुको सामू
बहीखाता लिएर आउने गर्छ

जाति र धर्मको नाम पुकार्दै
चाड र पर्वको मुकुण्डोले छोपिएर
सर्प जस्तै सलसली घिस्रिँदै
दुःखी दरिद्रीहरुको ढाडमा डस्न आइपुग्छ दशैँ

दशैँ !
रीति हो कि कुरीति ?
कुरीति हो कि रीति ?
संस्कार हो कि कुसँस्कार ?
कुसंस्कार हो कि संस्कार ?
संस्कृति हो कि बिकृति ?
बिकृति हो कि संस्कृति ?
ठम्याउन गाह्रो छ

तेरो मेरो
मेरो तेरो
फलानाको
ढिस्काको………अरे
हाम्रो किन भएन
भूगोलले कि भाकलले छुट्यायो ?
भाकलले कि भूगोलले छुट्यायो ?
यसको निर्क्यौल गरिनु पर्छ
एउटै आकाश ओढेर
एउटै धर्ती टेकेर
एउटै बतासको सास फेरेर
अनि
एउटै रङको रगत बोकेर
धर्मको
धर्सोले
भिन्न
बनाइरहेको छ किन ?
समाजले दशैँलाई भाँड्दैछ कि
दशैँले समाजलाई भाँड्दैछ ?
वास्तबमा कसको हो दशैँ ?

:हङकङ