पीडितको अवस्थासँग खेलबाड गरेको आरोप

पीडितको अवस्थासँग खेलबाड गरेको आरोप


बेपत्ता परिवारका सदस्यले आफूहरुलाई पैसा नभई अपराधीलाई सजाय दिई न्याय चाहिएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा उहाँहरूले सो धारणा राख्दै दुखेसो गर्नुभयो, “आयोगहरूले घाउलाई कोट्याउने काम मात्र गरिरहेका छन् ।” मुलुकमा गणतन्त्रको स्थापना भइसकेका अवस्थामा पनि गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने र बेपत्ता रहेकाहरूका बारेमा कुनै पहल गम्भीर रूपले नहुनु दुःखद भएको उहाँहरूले बताउनुभयो ।

“राहत छैन, राहत पाउन कहाँ जाऔँ, सम्पूर्ण कागजात बुझाइयो तापनि छानविनको प्रक्रिया शुरू भएन, पीडितका सन्तान पढाइबाट वञ्चित हुनु परिरहेको छ”, उहाँहरूले गुनासो पोख्नुभयो ।

द्वन्द्वपीडित उदयकुमार साहले बुबा बेपत्ता भएको वर्षौंं भई अवस्था हाल पनि अज्ञात रहेको तर आयोगको मौनताले आफूहरू बिचल्लीमा परेको बताउनुभयो । पीडित पद्म पौडेलले जीवन धान्न कठिन रहेकाले रोई बस्नुबाहेक आफ्नो केही छैन भन्दै न्याय कहिले, कहाँ पाउने भनी प्रश्न गर्नुभयो ।

अर्र्का पीडित देवेन्द्र यादवले पीडितको मानसिक, शारीरिक र आर्थिक अवस्थासँग आयोगले खेलबाड गरिरहेको आरोप लगाउनुभयो सञ्चारकर्मी रवीन्द्र उप्रेतीले आफूले सम्पूर्ण कागजात सम्बन्धित निकायमा बुझाए पनि पीडालाई बुझ्ने कुनै पहल नभएको गुनासो गर्नुभयो ।

बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बेपत्ता परिवारको राहतका बारेमा स्पष्टताका लागि ऐन निर्माणको पहल भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय मानवाधिकार आयोगका सदस्य सुदीप पाठकले सबै मिलेर पीडितलाई न्याय दिलाउन अग्रसर हुनु आवश्यक छ भन्नुभयो ।