तीन रुपैयाँ संकलनबाट शुरु, अब ‘सुविधासम्पन्न मुटु अस्पताल’

तीन रुपैयाँ संकलनबाट शुरु, अब ‘सुविधासम्पन्न मुटु अस्पताल’


– चन्द्रकान्त खनाल

रुपन्देही उद्योग संघले ०६२ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको जम्मा तीन रुपैयाँ मूल्यको टिकट बिक्रीबाट प्राप्त हुने रकम संकलन गरेर शुरु गरेको बुटबलको सामयुदायिक मुटु अस्पताल अहिले सुविधासम्पन्न मुटु अस्पताल हुनपुगेको छ । सर्वसाधरणले हृदयघातबाट अकालमै ज्यान गुमाएको खबरसँगै बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको हो । रुपन्देही उद्योग संघका तत्कालीन अध्यक्ष एजाज आलम नेतृत्वको उद्योगीहरूको पहलमा बुटवलमा मुटु अस्पताल सुरु भएको हो ।

नारायणघाटदेखि पश्चिममा मुटु अस्पताल सञ्चालन गर्न अनेकौँ समस्या थिए, तर पनि विभिन्न समस्याका बाबजुद अस्पताल सञ्चालनमा आई सेवा दिइरहेको छ । अस्पताल सञ्चालन गर्ने प्रदर्शनीको टिकटले नभएर उद्योगीहरुले अस्पताल सञ्चालनको लागि बृहत सांकृतिक कार्यक्रम समेत गरेको बताएका छन् ।

उक्त कार्यक्रमबाट १ करोड १० लाख आर्थिक संकलन भएको अध्यक्ष एजाज आलमले बताउँछन् । सांस्कृतिक कार्यक्रम उद्योगीहरुलाई अस्पताल सञ्चालन गर्न कोशेढुंगा भएको आलमले बताए । आलम भन्छन्– ‘काडमाडौबाहिर नभएको त्यो पनि अन्य उपचारभन्दा महँगो रहेकोले अस्पताल सुरु र सञ्चालनमा विभिन्न कठिनाई भएको थियो । आर्थिक पहिलो समस्या थियो भने दोश्रो नकारात्मक प्रचारले झन् समस्या बनाएको थियो ।

यस्तो अवस्था चिर्दै अहिले अस्पताल सुरु भएको ४ वर्ष पुगेको छ । रुपन्देही जिल्ला स्वास्थ्य क्षेत्रमा प्रगति गर्दै गएको जिल्ला भएको भए पनि मुटु अस्पतालको अभाव कायम रहेको थियो हामीले अस्पताल सुरु गर्ने अभियानमा यस क्षेत्रका उद्योगी ब्यापारी सर्बसाधरण सबैको सहयोग रह्यो र हामीले अस्पताललाई सहज रुपमा अघि बढाउने सकेका हौँ ।

उद्योगीको पहल भए पनि सबैको सहयोगको कारण अस्पताल अहिले प्रगतिको पथमा लम्कँदै अघिबढेको गौतम बुद्ध मुटुअस्पतालका अध्यक्ष एजाज आलमले बताए । २०७० साल पौष १० गते ९ सिसियुसहित २४ वेडको अस्पताल सुरु भएपछि यसक्षेत्र सहित २५ जिल्लाका मुटु तथा मृगौला रोगका बिरामीलाई उपचारमा सहज भएको छ ।

अस्पताल सुरुसँगै बिरामीको चाप बढेपछि अहिले अस्पतालले विभिन्न सेवा थप गरेको छ । अस्पतालका निर्देशक डा. शमीर गौतमले भने– ‘बिरामीको चाप अत्याधिक रहेको छ त्यसअनुसार अस्पताले पनि सेवा बिस्तार गदैँ आएको छ । पहिले मुटु मात्र थियो अहिले मुटु र मृगौलाको उपचार सेवा दिएका छौँ ।’

अहिले १७ वटा मेसिनबाट मृगौलाका रोगीलाई डायलाइसिस सेवा दिएको डा. गौतमले बताए । यस क्षेत्रमै नभएको क्याथ ल्याब सेवा लगायतका सेवा विस्तार गर्दै गएको बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा अहिले वरिष्ठ मुटु रोग मृगौलारोग गरि १० चिकित्सकसहित २ सय २० जना कर्मचारी कार्यरत रहेको अस्पताल प्रशासन प्रमुख कमल भण्डारीले बताए । रुपन्देही उद्योग संघ संरक्षक रहेको अस्पतालले आर्थिक श्रोतसँग सदस्यता विस्तार अभियान गरेको अस्पतलका कोषाध्यक्ष गणेशप्रसाद अधिकारीले बताए ।

अस्पताललाई रोटरी रोट्रयाक लगायतका क्लबहरुले पनि सहयोग गरेका छन् अस्पतालमा रोटरी फाउन्डेसन, रोटरी डिष्ट्रिक ३२९२ रोटरी क्लब अफ बुटवल साउथ लगायतका क्लबको भूमिका महत्वपुर्ण रहेको अस्पतालका अध्यक्ष आलमले बताए ।

काठमाडौबाहिरको एक मात्र सामुदायिक अस्पताल रहेको मुटु अस्पतालमा बिरामीको चाप दैनिक बढ्दो रहेको छ । लुम्बिनी अञ्चल तथा आसपास अञ्चलका बिरामीको चापको कारण अस्पतालमा भीड बढेको छ । नाफामुखी नभएको कारण अस्पतालले आर्थिक अभावबाट उपचारमा वञ्चित बिरामीलाई निःशुल्क उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

अस्पतालले यस वर्ष मात्रै ४४ लाख भन्दा बढि आर्थिक अभाव भएर उपचारमा समस्या भएका बिरामीलाई खर्च गरेको अस्पतालले जनाएको छ । ‘अस्पतालमा आएका बिरामीले आर्थिक अवस्था कमजोर भएको कारण ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले हामीले यो सेवा उपलब्ध गराएको हौँ,’ मुटु अस्पतालका सचिव तथा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बताए ।

सेवा गर्ने उद्देश्यले सञ्चालन भएको अस्पतालको उद्देष्य भनेको उपचार नभएर अकालमा कसैको मृत्यु नहोस् त्यो पनि मुटुजस्तो संवेदनशील विषय भएको कारण त्यहिअनुसार सेवा दिएको रेग्मीले बताए । अस्पतालले मुटुको उपचार साथै गाउँमा गएर सचेतना समेत गराएको छ ।

शिविरको माध्यमबाट पश्चिम नेपालका विभिन्न जिल्लामा गएर निःशुल्क चेकजाँच गर्दैआएको अस्पतालका निर्देशक डा. शमीर गौतमले बताउँछन् । गाउँमा गएर निःशुल्क थाइराइड, सुगर, प्रेसरलगायतका बिरामीको निःशुल्क चेकजाँच तथा निःशुल्क औषधी वितरण गर्दै आएको उनले जानकारी दिए ।

अस्पतालले मुटु मात्र नभएर मृगौलाको डायलासिस गर्दै आएको छ । सरकारको सुचिकृत अनुसार बिरामीलाई १७ वटा मेसिनबाट सेवा दिएको बताउँदै डा. गौतमले भने– ‘सरकारको नीतिभन्दा बढी हामीले मृगौला रोगीको लागि १ महिना र ३ महिनामा गरिने रुटिन टेष्ट हामीले निःशुल्क गराएका छौँ । एक बिरामीको एक वर्षको ४० हजार भन्दा बढी खर्च लाग्ने गर्दछ । एक वर्षमा अस्पतालबाट ५२ हजार ७ सय ९३ जना बिरामीले सेवा लिएका छन् ।’

यस अस्पतालले संस्थागत विशिष्ट तथा सम्मानित सदस्य तथा अस्पतालमा कार्यरतहरूलाई एक वर्षमा एकचोटि पवmूल बडी चेकअप गर्ने ब्यवस्था गरेको अध्यक्ष आलमले बताए । त्यस्तै, अस्तपतालले बुटबलमा रहेको एक बृद्धाश्रमका जेष्ठ नागरिकहरूलाई प्रत्येक महिना चेकजाँच तथा निःशुल्क उपचार गर्दै आएको बताइएको छ ।