म शेष नागको टाउकोमा उभिरहेको छु

म शेष नागको टाउकोमा उभिरहेको छु


-देश सुब्बा,
किन फैलिन्छ अतिवादी आगो
किन मौलाउँछ वैमनुष्यता
किन अशान्ति चारैतिर
किनभने यहाँ एउटा अमानुष रेखा छ
म त्यो रेखामा उभिरहेको छु यतिखेर
जब म त्यो रेखा टेकेर उभिन्छु
विजयको सगरमाथा महशुस गरिरहेको हुन्छु

मेरा स्वभावहरू किन सल्बलाइरहेछन्
सलह किराजस्तो –
एउटा युद्धको गिद्ध बोकेर
एउटा अहंमको सिँह बोकेर
एउटा शंकाको शंखे बोकेर
चारैतिर अक्टोपस टाउको घुसारेर
शत्रु खोज्दै छु र हेर्दैछु
त्यो रेखामा उभेर
कमिलाका ताँतीजस्तै
हूलका हूल शत्रुहरू
निस्किरहेका छन् मभित्रैबाट
यी शत्रुहरू फैलिएर
नरसंहार गर्दोरहेछ
अतिवादी बन्दोरहेछ
र संसारलाई रगतको पौडी खेलाउँदोरहेछ

त्यसैले म यी सबै शेष नागको
ज्यादतीविरुद्ध
टाउकोमा टेकेर उभिरहेको छु यतिखेर ।