
लण्डन — तमुधिं यूकेको संयोजनमा सन् २००९ सालदेखि शुरु भएको नेपाली मेलाको पाँचौ श्रृङ्खला हिजो शनिवार, २४ अगस्त २०१३को दिनमा केम्पटन पार्क रेसकोर्स, लण्डनमा सुसम्पन्न भएको थियो । मौसमलाई चुनौती दिँदै भिषण झरीको बेलामा कतै कार्यक्रम विथोलिने भय सबैलाई थियो । आकाश कालो बादलले ढाकिएको थियो भने तमुधिंका व्यवस्थापन पक्ष बहुप्रत्तिक्षित कार्यक्रमलाई सफल बनाउन लागि परेका थिए । बिहानै देखि सिमसिम पानी पर्दै थियो । दिनको एकबज्ने बेलामा एक जोड्दार झरीले एकपटक कार्यक्रम नै विथोलिन्छकि भन्ने भान भएको थियो । तर, खराब मौसमको बावजुद कार्यक्रम केहि ढिलो सञ्चालन भएता पनि सफलता पूर्वक कार्यक्रम सम्पन्न भएको थियो । पाँचौ संस्करणको यस मेलालाई निकै धेरै संघसंस्था, व्यापारीहरु तथा व्यक्तिहरुले प्रायोजन गरेका थिए । बेलायतका लागि नेपालका कार्यवाहक राजदूत श्री तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहेको साथै सदा झै नेपाली मेलालाई प्रायोजन गर्ने ग्लास्गोका अनरेरी कन्सुल श्रीमति सुनिता पोद्दर विशेष अतिथि रहेको कार्यक्रममा अतिथिहरुको निकैलामो फेहिरिस्त थियो । जस्मा कैयौ तमुधिंका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, व्यापारीहरु, संघसंस्थाका प्रतिनिधि,अध्यक्षहरु, बेलायतका केहि सञ्चारकर्मी तथा उनका परिवारहरु अतिथि स्वरुप आमन्त्रित थिए । झण्डै १५० जना जति अतिथि रहेको कार्यक्रममा शायद मौसमको कारणले हुनसक्छ पोहोर सालको तुलनामा यसपाली जनसमूह अत्यन्त न्यून रहेको थियो । यस कार्यक्रमलाई तमुधिंका उपाध्यक्ष ज्ञाम गुरुङले संयोजन गरेका थिए तथा अनौपचारिक कार्यक्रम महासचिव नन्दजंग गुरुङले अध्यक्ष लगायत पाहुनाहरुको बाहुलीबाट रिबन काटेर कार्यक्रमलाई उद्घाटन गरेका थिए । नेपाल र बेलायतको राष्ट्रिय धून बजाए पछि कार्यक्रमले गति लिएको थियो । नेपाली मेलालाई बेलायतको कुम्भ मेलाको रुपमा लिन थालेको अवस्थामा यसपाली निकै नेपाली संघसंस्थाले भाग लिएनन् । नेपाली मेलाको मुख्य आकर्षण नै नेपालीत्व बोध गर्ने झाँकीहरु र संस्कृतिक कार्यक्रमहरु हुन । ३८ वटा टिमले झाँकीमा भाग लिने भनिएता पनि मेलामा २६ वटा टिमको सहभागिता देखिएको थियो । जसमध्ये केवल १२वटा टिम झाँकी प्रत्तियोगितामा सामेल थिए । यसपालीको झाँकी प्रत्तियोगितामा पनि पोहोर सालको विजेता पुन समाज यूकेले जितेको थियो । दोश्रो र तेश्रो स्थानमा क्रमशः श्री मेश्रमबराह घान्द्रूक यूके समाज र रेडिङ तमु समाज यूकेले जितेका थिए । यसपालीको नेपाली मेला विविध कारणहरुले गर्दा कार्यक्रम स्थल चयन गर्न तथा निर्धारण गर्नमा केहि समस्याहरु देखा परेको थियो, तर, तमुधिं यूकेको सक्रियतामा केम्पटन पार्क रेसकोर्स जस्तो महँगो कार्यक्रम स्थल पाउन सफल भएको थियो । समग्रमा केहि कमिकमजोरीहरुलाई छाडेर कार्यक्रम खराब मौसमको बावजुद सफलता साथ सञ्चालन भएको थियो, तर, जनसहभागिता भने अत्यन्त न्यून रहेको थियो ।
प्रतिक्रिया