गिनिजबुक रेकर्डधारी गायक यौनशोषणको अभियुक्त !

गिनिजबुक रेकर्डधारी गायक यौनशोषणको अभियुक्त !


१ सय २५ भाषामा गीत गाएर गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम लेखाएका भारतका प्रसिद्ध गजल गायक केसीराजुु श्रीनिवासलाई यौनशोषणको आरोप लागेको छ । श्रीनिवासका विरुद्धमा पीडिता आरजेले शारीरिक तथा मानसिक रूपमा प्रताडना दिएको आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन् । सोही उजुरीको आधारमा अहिले श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । पीडिता हैदरावादको एक वेब रेडियो कम्पनीमा काम गर्छिन् भने रेडियो गजलको कार्यक्रम श्रीनिवास सञ्चालन गर्दै आएका थिए ।

कार्यक्रमको हेडरूपमा रहेकी पीडिताले सँगै काम गर्ने क्रममा श्रीनिवासले शारीरिक तथा मानसिक रूपमा यातना दिएको आरोप लगाएकी छिन् । एक वर्षसम्म यातना सहेको उल्लेख गर्दै पीडिताले सहनै नसकेपछि प्रहरीमा उजुरी दर्ता गरेको बताएकी छिन् । यसपछि श्रीनिवासलाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडि बढाएको छ । उनलाई अहिले १२ जनवरीसम्मका लागि प्रहरी हिरासतमा राखिएको छ । श्रीनिवासले यो आरोपलाई कपोलकल्पित बन्दै पीडितालाई आफ्नी छोरीजस्तै भएको बयान दिएका छन् ।

बलिउडमा कहिले बोल्ने ?

बलिउड अभिनेत्री श्रुती सेठले सिनेक्षेत्रमा हुने यौन उत्पीडनबारे मुख खोलेकी छिन् । श्रुतीले हलिउडजस्तो विश्वकै ठूलो फिल्म नगरीमा यौन उत्पीडनको रहस्य सार्वजनिक गर्न दुई दशक लाग्नु आश्चर्यको कुरो भएको भन्दै खुला सोच भएको हलिउडमा यौन उत्पीडनको रहस्यको पर्दाफास गर्न दुई दशक लाग्यो भने बलिउडमा त अझै ५० वर्ष लाग्न सक्ने तर्क गरेकी छिन् ।

बलिउडको पर्दापछाडि हुने यौन उत्पीडनतर्फ सङ्केत गर्दै श्रुतीले त्यसको रहस्य छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने धारणा सामाजिक सञ्जालमा राखेकी छिन् । बलिउडमा हुने यस्तो कलुषित खेलको पर्दाफास गर्न सबै बलिउडकर्मी एक हुनुपर्ने कुरामा पनि उनले जोड दिएकी छिन् ।

यौन उत्पीडनको विरुद्धमा ३ सयभन्दा बढी हलिउड अभिनेत्री यतिबेला आन्दोलनमा उत्रिएका छन् । यो अभियानलाई अभिनेत्री नेटली पोर्टमेन, रिज विदरस्पुन, कैट ब्लैन्चेट, इवा लोन्गोरिया र एस्मा स्टोनले अगाडि बढाएका छन् ।