अनलाइन मिडिया नियमन गर्ने निर्देशिका बनाउँछु – मन्त्री बस्नेत

अनलाइन मिडिया नियमन गर्ने निर्देशिका बनाउँछु – मन्त्री बस्नेत


सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाइन मिडियालाई व्यवस्थित बनाउनका लागि छिट्टै अनलाइन नियमन निर्देशिका बनाउने बताएका छन् ।

राष्ट्रिय अनलाइन पत्रकार संघको दोस्रो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘विश्वमै कान्छो तर प्रभावकारी मिडियाका रुपमा उदाएको अनलाइनको नियमन गर्ने निर्देशिका आफ्नै कार्यकालमा बनाउँछु ।’

मन्त्री बस्नेतले पछिल्लो समयमा अनलाइन मिडिया निकै फस्टाएको र नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीलेसमेत अनलाइन मिडिया चलाएको हुँदा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्कतामाथि जोड दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले अनलाइन मिडियालाई नियमन गर्ने निर्देशिका बनाए मात्रै यसको प्रभावकारिता बढ्ने नत्र आफू खुशी अनलाइन चलाउँदा धेरै समस्या हुने धारणा व्यक्त गरे ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइन मिडियालाई व्यवस्थित बनाउने कानून ल्याएमा सरकारबाट पाउने लोककल्याणकारी विज्ञापनलगायतका सुविधा लिनसमेत सहज हुने बताए ।

राससका अनुसार संघका अध्यक्ष मुकुन्द ढुंगानाले अनलाइन कान्छो मिडिया भएपनि लोकप्रिय मिडिया भएको हुँदा यसलाई जतिसक्दो छिटो व्यवस्थित गर्ने निर्देशिका बनाएर पत्रपत्रिकालाई जस्तै वर्गीकरण गरी राम्रो गर्ने अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिन आग्रह गरे ।