एक गुरुङले अर्को गुरुङलाई सोध्छ -‘तपाईँ के थरी गुरुङ हो ?’ यो अनौठो होइन, क्षेत्रीहरुको पनि कुन क्षेत्री भनेर सोधेजस्तै नेवारहरुमा पनि फलाना थरी शुद्ध नेवार भन्ने गरी वर्गीकरण गर्ने समाजको एक अङ्ग भएका हामी नेपालीहरुमा त्यो एक प्रकारको विकार व्याप्त छ । यसलाई यस कारणले विकार भनेको हो कि, यही सामाजिक विभाजनको हेराइले गर्दा एक जातिले अर्को जातिलाई कहिल्यै आफ्नो जातिभन्दा राम्रो देख्दैन । यही नराम्रो देख्ने क्रमको उच्चतामा ती अर्को खालेप्रति वास्तविक शुभेक्षा रहँदैन, यदि हामी ढोङ्ग नगरीकन स्वीकार गर्न सक्छौं भने ।
अहिले यूकेमा तमूहरुको महान पर्व ल्होसारको चर्चा, शिखरमा छ । हुन त यो एक जातीय पर्व हो, तथापि खासगरी गुरुङ जातिको दखल, यूकेको नेपाली समुदायमा अकाट्य रुपले प्रभावशाली रहेको छ । र त्यही प्रभावशालिता हासिल गर्ने क्रममा गुरुङ समुदाय, समाजका अन्य समुदायहरुका विचारहरुप्रलाई नजरअन्दाज गर्न सक्दैन । चार जाते, सोह्र जाते वा तीन जाते, नौ जाते आदिले विभाजित भएर गुरुङहरु दुई खाले भएका छन् भन्ने आम चर्चा त छ नै तर पनि तमू धीं तथा तमू प्येल्हूहरुसँग सम्वन्धितहरु भने गुरुङभित्र विभाजन नभएको तर ल्होसार मनाउने क्रममा भएको विविध शैलीले बेग्लो मात्र भएको भन्ने भनाइ राख्दछन् । वोन धर्मावलम्बीहरु र वौद्ध धर्मावलम्बीहरु बीचमा काटमार गर्ने र नगर्नेहरुका शैलीअनुसार नै ल्होसार दुई छुट्टै स्थानमा मनाइन लागेको भन्ने भनाइ छ । यदि त्यही किसिमकै परिचलन यथावत रहे, ल्होसार कहिल्यै पनि गुरुङहरुले एकै स्थानमा मनाउन सक्दैनन् ।
हामी विश्ववन्धुत्वको कुरा गर्दछौं तर हामी घरभित्र पनि एक हुन सकिरहेका छैनौं, त्यो भने दुःखपूर्ण हो । संसार धर्मको आगोले दिनप्रतिदिन भित्रभित्रै दन्किरहेको छ, मारकाटहरु भइरहेका छन्, त्यो क्रम, समाज अनि परिवारभित्र पनि बाक्लिँदै जाँदैछ । ईश्वर …यदि छन् भने दयालू छन्, सर्वगुण सम्पन्न छन् । भक्तजनका भक्ति गर्ने शैलीसँग ईश्वरलाई सरोकार हुँदैन, आस्था नै सम्पूर्ण हो । कसैले मेरो तस्वीरलाई पूजा गर्न सक्छ, मलाई पूजा गर्न सक्दछ, त्यो पूजा मेरो होइन, त्यो श्रद्धा व्यक्त गर्ने शैली मात्र हो । मेरो तस्वीरबाट अनि मबाट ईश्वरप्रति श्रद्धा व्यक्त गरिएको र एक ढुङ्गाको मूर्तिबाट अनि भगवानको तस्वीरबाट गरिने श्रद्धामा के अन्तर हुन्छ ?
पर्वहरु भनेको ‘सेलेब्रेसन अफ ज्वाय’ हो । ल्होसार त्यसैले त्यर्सअर्थमा सामुदायिक खुशीको सामुदायिक जमघटमा प्रदर्शनी हो । बाहिरी आँखाहरुले, यूकेमा सशक्त रुपमा फैलिएका गुरुङहरुबीच एकत्रित रुपले पर्व मनाएको हेर्न चाहान्छन् । वश ।
प्रतिक्रिया