अधीर-अस्थिर एमाले

अधीर-अस्थिर एमाले


सोह्रपटकका निर्वाचनबाट पनि नयाँ प्रधानमन्त्री निर्वाचन हुन नसकिरहेको विडम्बनायुक्त राजनीतिक परिवेशबीच आज बुधबार सत्रौँपटक प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । तर, सत्रौँ निर्वाचनपछि पनि प्रधानमन्त्री चयन नहुने परिस्थिति मजबुत बन्न पुगेको छ । नयाँ प्रधानमन्त्री निर्वाचनमा हालसम्म गतिरोधको गाँठो बन्दै आएको एमालेको अस्पष्ट भूमिका तथा सो दलका अध्यक्षको आफैं प्रधानमन्त्री बन्ने अभीष्टका कारण बहालवाला प्रधानमन्त्रीले राजीनामा दिएको ६ महिना बित्दा पनि राजनीतिक गत्यारोध कायम रहने परिस्थिति निम्तिएको प्रस्टै छ ।
वर्गशत्रु निमिट्यान्न पार्ने क्रान्तिका नाममा उरन्ठेउलो ढङ्गबाट व्यक्तिहत्याको मार्ग अवलम्बन गर्दै कालान्तरमा मुलुककै जिम्मेवार कम्युनिस्ट पार्टीको पगरी गुथेर सत्तासम्मको यात्रा तय गर्न सफल एमाले ढुलमुले चरित्रका लागि कहलिएको दल हो । आफूलाई लोकतन्त्रको मर्म बुझेको कम्युनिस्ट पार्टीका रूपमा चिनाउन रुचाउने एमालेको अविश्वसनीय र अस्थिर चरित्रसँग भलिभाँती परिचित हुँदाहुँदै पनि नेपाली काङ्ग्रेसको नेतृत्वले उक्त दललाई आड-भरोस दिँदै आयो, मौकामा साथ-सहयोग पाउने आशामा । खासगरी तेस्रो लोकतान्त्रिक आन्दोलनयता त कदम-कदममा काङ्ग्रेसले एमालेलाई यसरी अङ्गालो हाल्यो कि मुलुककै पुरानो प्रजातान्त्रिक दलको सहचार्य पाएर एमालेले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अझ दर्बिलो पहिचानका साथ उभ्याउने अवसर हासिल गर्‍यो । उग्र र अराजक समूह बन्ने खतराबाट पार लगाउँदै एउटा जिम्मेवार दलको हैसियत बनाउन सहयात्री काङ्ग्रेसले यसरी सघाएको गुनको बदलामा यतिबेला ‘साथ न लात’को चरित्र प्रदर्शन गरेर एमालेले काङ्ग्रेसलाई मात्र घात नगरी उसमाथि जनस्तरबाट पहिर्‍याइएको ‘उभयलिङ्गी दल’को विशेषणलाई समेत चरितार्थ तुल्याएको छ । कम्तीमा पनि नयाँ संविधान नबन्दासम्म लोकतन्त्रवादीहरूको सत्तासमीकरणले निरन्तरता पाउनुपर्छ भन्ने नेपाली काङ्ग्रेसको सदासयतामाथि एमालेले यसरी पानी फ्याँकेपछि वर्तमान समीकरण टुट्ने खतराले शिखर छुन पुगेको छ । यसरी पुस महिनाभित्रै देशले नयाँ प्रधानमन्त्री पाउने जनविश्वासमा पुन: ठेस पुगेको छ ।
रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता नभए उनको विपक्षमा मत हाल्ने एमालेको निर्मम निर्णयबाट मर्माहत हुन पुगेको काङ्ग्रेसले यदि उसले त्यस निर्णयलाई व्यवहारमै उतार्छ भने सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । काङ्ग्रेसको यस अप्रत्याशित चेतावनीले एमाले नेतृत्वलाई झस्काएको त छ तर आफ्नै सोच-समझ प्रयोग गरेर ठोस निर्णय लिने मामलामा पङ्गु सावित भइसकेको एमालेको चेत काङ्ग्रेसको यस चेतावनीले फिराउने अपेक्षा सायदै गर्न सकिन्छ । खासगरी प्रचण्डको मोहनी जालमा लटि्ठएका एमाले अध्यक्षको बालहठ यतिबेलाको राजनीतिक गाँठो फुकाउने सर्न्दर्भमा चरम सङ्क्रमण झेलिरहेको मुलुकका लागि असैह्य पिलो सावित भइरहेछ । हुन सक्ला कि सत्तारोहणको समस्त ढोका बन्द भएर पानीबिनाको माछो बन्न पुगेका प्रचण्डको साथ पाएर झलनाथलाई प्रधानमन्त्रीको पगरी गुथ्ने सफलता हात लागोस्, तर त्यसपछि निम्तन सक्ने भयावह परिस्थितिबारे थोरै मात्र पनि अनुमान लगाउन सकेका छन् उनले ? राष्ट्रलाई पुन: निरङ्कुशताको दलदलमा धसाउने जुन आधार एमाले वा झलनाथ बन्दै छन्, यसले एमालेको बचेखुचेको लोकतान्त्रिक छवि निमिट्यान्न पार्ने सम्भावना प्रचुर छ । आफू प्रधानमन्त्री बन्नु भनेको मुलुकमा शान्ति र संविधानको सुनिश्चितता हुनु हो भन्ने झलनाथको दाबी पानीको त्यो फोकासरह हो जसको अस्तित्वले पलभर पनि निरन्तरता पाउन सक्दैन । अझै पनि समय छ एमालेले आफ्नो निर्णयमा पुनरावलोकन गरी परिस्थितिअनुकूल सही निर्णय लिनका लागि । प्रधानमन्त्रीका एक्ला उम्मेदवार पौडेलका पक्षमा मतदान गरेर सहयात्री काङ्ग्रेसको विश्वास जित्दै लोकतान्त्रिक गठबन्धनलाई कसिलो तुल्याउनुमा मुलुकको जति हित हुन्छ एमाले स्वयम्का लागि पनि त्यो कम्ती फलदायी हुनेछैन । होइन र अधीर तथा अस्थिर राजनीतिलाई नै सफलताको सिँढी सम्झेर दौडने धृष्टता गर्छ भने एमालेलाई ँराम राम’ भन्नेबाहेक लोकतन्त्रवादी कित्ताले अरू के नै पो गर्न सक्ला र ?