पुस्तक समीक्षा

पुस्तक समीक्षा


प्रलय प्रारम्भ सार्वजनिक
वरिष्ठ पत्रकार एवम् यस साप्ताहिकका संस्थापक प्रधानसम्पादक देवप्रकाश त्रिपाठीद्वारा लिखित उपन्यास ‘प्रलय प्रारम्भ’ सार्वजनिक गरिएको छ । लेखकको पहिलो पुस्तक–कृतिका रूपमा प्रकाशित ‘प्रलय प्रारम्भ’को विमोचन गत शनिबार भक्तपुरका किसानद्वय काजीनरसिंह कौरी र कृष्णमान अवालका साथ विद्यार्थी प्रतिज्ञा तिवारी, दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्र मिश्र र पर्यावरणविद् डा. डीबी सिंहले गर्नुभयो ।
पुस्तक विमोचन समारोहमा प्रसिद्ध समालोचक डा. मोहनराज शर्माले उपन्यासको विषयवस्तु अत्यन्त नौलो रहेको भन्दै विज्ञान र परमाणु उत्कर्षले विश्वमा सङ्कट सिर्जना भएको अवस्था र यसबाट बच्ने उपाय पनि उपन्यासभित्र समेटिएको उल्लेख गर्नुभयो । कार्यक्रममा कृतिकार देवप्रकाश त्रिपाठी, प्राध्यापक डा. वीरेन्द्र मिश्र, डा. डीबी सिंह, पत्रकार बबिता बस्नेत र साहित्यकार÷सञ्चारकर्मी मणि लोहनीले कृति र कृतिकारबारे चर्चा गरेका थिए ।

झमक्क साँझ पर्‍यो ।
पृथ्वीका जीवित केवल दुई मानव, दुईबीच पनि कता–कता मनोमालिन्य भएजस्तो लाग्थ्यो । आज दिनभरि उनीहरूबीच खासै संवाद पनि भएन । अघिल्लो दिन जीवनलाई निरन्तरता दिने भन्ने सहमतिचाहिँ दुईबीच भएको हो, तर एक–अर्काप्रतिको असन्तुष्टिका बीच भएको सहमतिले स्वाभाविकता पाइसकेको थिएन । त्यसैले सोचाइ ज्यादा संवाद कमको स्थितिबाट उनीहरू गुज्रिरहेका थिए । दिनभरिको काम सकेर दुवैजना घरभित्र प्रवेश गरे । जे थियो त्यसलाई भोजनको रूपमा ग्रहण गरेर मौनताकै बीचमा उनीहरू आ–आफ्नो ओछ्यानमा पल्टिए । दुवैले आ–आफ्ना आँखा बन्द गरे, तर निद्रा पर्ने स्थिति थिएन । भविष्यबारेको सोचमा दुवै मग्न थिए, शायद मध्यरात हुनै लाग्दा उनीहरूलाई निद्राले समात्यो ।
मध्यरात नाघिसकेको थियो, भयङ्कर आवाजका साथ गर्जिएको मेघले अभ्यस्तको निद्रा खुलाइदियो । आकाशमा बिजुली चम्कने र मेघ गर्जने क्रमसँगै वर्षा पनि सुरु भएको थियो । अभ्यस्त उठेर ओछ्यानमै बस्यो । आमा भएतिर हेर्‍यो, आमा मस्त निद्रामै थिइन् । बिजुली चम्कँदा झोपडीभित्र छिरेको उज्यालोमा आमाको शरीर उसको आँखामा लाग्थ्यो, यस्तो अनेकौंपटक भइरह्यो । अभ्यस्तले सोच्यो– यिनी नै मेरी आमा हुन् भन्ने के विश्वास छ र ? पटक–पटक उसको मनमा यही प्रश्न आइरह्यो । त्यसपछि उसले पलभर नबिराइकन आमाको शरीरमा आँखा लगाइरह्यो । आमाको शरीरका कपडाहरू छताछुल्ल थिए । कपडाले धोखा दिएका भागहरूमा अभ्यस्तका आँखा बढी केन्द्रित हुन्थे । मेघको गर्जन र वर्षा रोकिएको थिएन । अभ्यस्त अचानक उठ्यो र आमाको ओछ्यानको छेउमा उभिन पुग्यो । आमालाई शिरदेखि पाउसम्म नियाल्यो । अनि पाउपट्टि गएर बस्यो । आमाको शरीरलाई तलदेखि माथिसम्म नियाल्यो । यिनी, जो सुतिरहेकी छिन् यिनी मेरी आमा होइनन् भन्ने कुरालाई उसले दिमागमा जबर्जस्ती प्रवेश गराएको थियो । उसले हात अघिबढायो, आमाका पिँडुलाहरू छोप्ने फरियाको फेर समात्यो । ठीक त्यसैबेला निकै ठूलो आवाजका साथ मेघ गर्जियो । निराकार झसङ्ग भएर बिउँझिन् । आफ्नो शरीरमा कसैको स्पर्श भएको थाहा पाउन उनलाई समय लागेन । जुरुक्क उठिन् र आफ्नो समीपमै भएको अभ्यस्तलाई सोधिन्–
के भयो बाबु निद्रा परेन ? ऊ केही बोलेन । आमाको पाउमा शिर राख्यो र ढोग्यो । उसले आफैं पाउबाट शिर हटाएन । निराकार आफैंले गोडा झिकिन् र अभ्यस्तलाई सुमसुम्याउन थालिन् ।
– के भयो अभ्यस्त ?
– केही भएको छैन, अभ्यस्तले जवाफ फर्कायो ।
– अनि किन नसुतेर यसरी
बसिरहेको त ?
– मनै थर्कने गरी मेघ गर्जियो, त्यसैले डर लागेर तपाईंको समीप आइबसेको ।
थप प्रश्न गरेर छोरालाई लज्जित बनाउन उनले चाहिनन् । ‘एऽऽऽ’ भनेर टुङ्ग्याइन् । तर अभ्यस्तको नियतबारे जानकारी पाउन भने उनलाई कुनै मुस्किल परेन ।
यस घटनाले निराकारलाई चिन्तित तुल्यायो । व्यक्त गर्ने ठाउँ थिएन, यसको निदान आफैंले खोज्नुबाहेक सल्लाह लिने पनि कोही थिएनन् । छोराले धैर्य गुमाउँदै गयो– उनले राम्ररी बुझिन् । आगामी दिनमा कुनै प्रकारको दुर्घटना पो बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई गम्भीर रूपले छोप्यो । छोराबाट कसरी जोगिने, उनका लागि अब अर्को चिन्ता थपियो ।
मेघको गर्जन बन्द भयो, तर वर्षा रोकिएन । अभ्यस्त फर्केर आफ्नै ओछ्यानमा आयो । एकैछिन अगाडि आफूभित्र पैदा भएको ज्वालामुखी र त्यसलाई शान्त तुल्याउन भएको प्रयासलाई लिएर मनमनै उसमा ग्लानिबोध भयो । ग्लानिबोध गर्दागर्दै ऊ निदायो । तर, निराकारलाई भने त्यसपछि निद्रै परेन ।
(देवप्रकाश त्रिपाठीद्वारा लिखित हालै प्रकाशित उपन्यास ‘प्रलय प्रारम्भ’ को एक अंश)

ओपन सेक्रेट सार्वजनिक
पत्रकार केपी ढुंगानाको अपराध रिपोर्टिङसम्बन्धी पुस्तक ‘ओपन सेक्रेट’ गत हप्ता सार्वजनिक भएको छ । ०५५ देखि ०६८ सम्म भएका अन्तरदेशीय अपराधको चलखेल र नेपालका ठूला ६ वटा हत्याकाण्डबारे लेखिएको सो पुस्तकको नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपाल र पुस्तकका लेखक ढुंगाना संयुक्त रूपमा विमोचन गरे ।
नेपालका आपराधिक क्रियाकलाप कसरी सञ्चालन हुँदा रहेछन् भन्नेबारेका पुस्तकले खुलासा गरेको गाउँलेले बताए । यस्तै नागरिक दैनिकका प्रधान सम्पादक नेपालले नेपालको राजनीतिक व्यवस्थाकै कारण यहाँको पुलिस सङ्गठन निकम्मा बन्दै गएको उल्लेख गरे । पत्रकारितामा अपराध रिपोर्टिङ अझ जोखिम भएकाले सो जोखिम मोलेकोमा उनले लेखकको प्रशंसा गरे । यस्तै कार्यक्रममा उपस्थित पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले प्रहरी सङ्गठनभित्र राजनीतीकरण भएको स्वीकार्दै यसकै कारण खुलेर काम गर्न नसकेको बताए । राज्यले समयसापेक्ष सुदृढीकरणमा चासो नदिएका कारण प्रहरी सङ्गठन मजबुत हुन नसकेको उनको भनाइ थियो । यस्तै, पुस्तकका लेखक ढुंगानाले अपराधीसँग प्रहरीकै मिलेमतोमा भएका हत्यकाण्ड र राज्यले लुकाएका तथ्यलाई पुस्तकमा खुलासा गरेको उल्लेख गरे ।
पूर्वमन्त्री मिर्जा दिलसाद बेग, सञ्चार उद्यमी जमिम शाह, कमल नेपाली, मजित मनिहार, सौकत बेग, फैजान अहमदको हत्या घटना र युनुस अन्सारीलाई केन्द्रीय कारागारमा पटकपटक गरिएको हत्या प्रयासलाई पुस्तकले उजागर गरेको छ । – फणीन्द्र संगम