‘ह्वाइट रिभर’को पहिचान गुमाउँदै ‘डेड रिभर’ बन्ने खतरामा त्रिशुली नदी

‘ह्वाइट रिभर’को पहिचान गुमाउँदै ‘डेड रिभर’ बन्ने खतरामा त्रिशुली नदी


विश्व स्वास्थ्य सङ्गठनले पानी सफा, पानीभित्रको पारदर्शिता (प्रस्ट देखिने), सुन्दर नीलोपन, बालुवा, माटो नमिसिएको सङ्ग्लो पानी, विषालु तत्व नमिसिएको, फोहोर नभएको पिउनयोग्य, अक्सिजन प्रशस्त मात्रामा घुलिएको, विषालु ग्यास नभएको, माछा, भ्यागुतालगायतका जलचर र वनस्पति बाँच्न सक्ने नदीलाई स्वच्छ र स्वस्थ नदी भनेर परिभाषित गरी मापदण्ड निर्धारण गरेको छ । तर, नदी किनारमा भएका होटेलहरूबाट बगेर मिसिने फोहोर, आसपास क्षेत्रमा सञ्चालित उद्योगधन्दाको रसायनलगायतका फोहोर प्रत्यक्ष रूपमा नदीमा मिसाउने गरिएकाले ‘ह्वाइट वाटर’ भनेर चिनिने एक महत्वपूर्ण नदी स्वच्छ र स्वस्थ नदीको सूचीबाट हट्न सक्ने चुनौती थपिएको छ ।

प्रसङ्ग हो, नेपालकै महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा परिचित रहँदै आएको त्रिशूली नदीको । कुनै बेला ‘ह्वाइट वाटर’ भनेर चिनिने त्रिशूली दिन–प्रतिदिन प्रदूषित हुनुका साथै अत्यासलाग्दो दोहनका कारण मूल अस्तित्व नै गुम्ने खतराबाट गुज्रिरहेको छ । केही वर्षदेखि नदी किनारमा बालुवा प्रशोधन गर्ने फिरफिरे खडा गरी रोडा–बालुवा बेचेर कमाउने धन्दा निर्वाध फस्टाउन पुग्दा नदीको स्वरूप विकराल बन्नुका साथै त्यसबाट निस्केको लेदो माटो, फोहोरजन्य रसायन तथा विषादी सोझै नदीमा मिसाइँदा त्रिशूली नदीको स्वच्छतामा सङ्कट उत्पन्न भएको हो ।

पछिल्ला केही वर्षयता त्रिशूली नदी बाह्रैमास धमिलो देखिन थालेको छ । वर्षको अधिकांश मास नीलो सफा पानी बग्ने नदी हरदम धमिलो हुन थालेपछि ऱ्याफ्टिङमा सौखिन विदेशी तथा स्वदेशी पारखीले गहिरो चिन्ता व्यक्त गर्न थालेका छन् । स्थानीय ऱ्याफ्टिङ व्यवसायीका अनुसार त्रिशूली धमिलो हुन थालेपछि पछिल्ला वर्षमा ऱ्याफ्टिङ गर्न आउने विदेशीको सङ्ख्यामा ह्रास आएको छ । यो ठूलो चिन्ताको विषय हो । नेपालकै सफा र स्वच्छ नदीको छवि बनाएको त्रिशूलीलाई यही गतिमा फोहोर बनाउने काम भइरहे कुनै दिन ‘डेड रिभर’ (मृतनदी)मा रूपान्तर नहोला भन्न सकिन्न ।

यतिबेला त्रिशूली नदी किनारमा चार सयभन्दा बढी अवैध फिरफिरे (बालुवा प्रशोधन गर्ने मेसिन) सञ्चालन भइरहेका छन् भने ऱ्याफ्टिङका लागि स्वच्छ पानीको नदी भनेर चिनिएको यो नदी बाह्रैमास लेदो रूपमा बगिरहेको छ । यसले गर्दा एकातिर ऱ्याफ्टिङका लागि आउने विदेशी पर्यटकको रोजाइमा यो नदी कम प्राथमिकतामा पर्न थालेको छ भने नदीमा हुने जैविक विविधता पनि सङ्कटमा परेको छ । नदीका किनारमा विकसित भएका बस्ती तथा शहरमा सञ्चालित होटेल तथा उद्योगधन्दाले फोहोर व्यवस्थापन गर्ने ठाउँ नदी किनारलाई प्रयोग गर्न थालेपछि अनेकौँपटक सरोकारवालासँग यस विषयमा छलफल गरिएको छ, तैपनि देखिने गरी परिणाम आउन सकेको छैन ।

वर्षायाम सुरु नहुँदै त्रिशूलीको पानी धमिलो भइरहेको छ भने नदीले दैनिक सयौँ मेट्रिक टन मलिलो माटो बगाउने गरेको छ । केही वर्ष पहिले गरिएको एक अध्ययनअनुसार नेपाललगायतका नदीबाट बङ्गालको खाडीमा वार्षिक रूपमा २४ करोड घनमिटर मलिलो माटो थुप्रिने गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका खोला तथा नदीमा अवैध रूपमा बढ्दो बालुवा र ढुङ्गाको उत्खननविरुद्ध नागरिक जागरण फैलाउन प्राकृतिक सम्पदा संरक्षण समिति, त्रिशूली बचाउ महाअभियान पनि गठन गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण एवम् पर्यावरण, संस्कृति, पर्यटन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि समिति गठन गरिएको संयोजक श्रवण त्रिपाठी बताउँछन् ।

हाल दिनको समयमा अवैध रूपमा बालुवा र ढुङ्गाको उत्खनन तथा दोहन गरेको नदेखिए पनि रातको समयमा हुने गरेको र बालुवा प्रशोधन गर्ने फिरफिरेबाट निस्केको लेदो माटो सोझै नदीमा मिसाउँदा त्रिशूली नदी सङ्कटमा पर्न थालेको त्रिपाठीको दाबी छ । यस्तो संवेदनशील मुद्दामा पनि सरकारी निकायले चासो नदेखाउने, फिरफिरे सञ्चालककै पक्षमा व्यवहार गर्नेजस्ता क्रियाकलाप दर्शाउनु अत्यन्त विष्मयको विषय भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

ज्ञातव्य छ, नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सिज नाराले पनि त्रिशूली नदीमा दिनानुदिन प्रदूषण बढ्दै गएको र नदी उत्खनन रोक्न सचेतना फैलाउने उद्देश्यले ‘त्रिशूली नदी बचाउ राष्ट्रिय अभियान’ सञ्चालन गरिराखेको छ । अभियानले नदीको प्रदूषण नियन्त्रण र वातावरण जोगाउन नाराले वर्षको एकपटक सरसफाइ कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय क्लब र संस्थालाई पनि सहभागी गराउँदै आइराखेको छ ।

यसैबीच प्राप्त जानकारीअनुसार केही दिनमै क्रसर तथा फिरफिरे व्यवसायी, प्रहरी प्रशासन र त्रिशूली बचाउका अभियन्तासहितको भेला बोलाई त्रिशूली बचाउन के गर्ने भन्ने विषयमा ठोस निष्कर्ष निकालिने तयारी भएको छ । बेनीघाट–रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले सामाजिक सञ्जालको प्रकृतिमैत्री समूहलाई प्रतिक्रिया दिँदै बेनीघाट–रोराङको किनार भएर बग्ने त्रिशूली नदी धमिलो पार्ने गाउँपालिकालाई मुद्दा हाल्ने प्रक्रियाको छलफलमा आफू रहेको जानकारी दिए ।

(त्रिशुली नदी बचाउने अभियानमा रहेका अभियन्ताहरू सडकमा ऱ्याफ्टिङका साथ साङ्केतिक विरोध गर्दै)