पैसा तिरेपछि सबै देखाइदिन्छु

पैसा तिरेपछि सबै देखाइदिन्छु


‘देखाइदिन्छु सबै कुरा
पैसा तिरेपछि
जिन्दगीमा मोजमस्ती
गर्नैपर्छ राति
गाला मेरो फुटेको छैन
अलिकति चर्को हो साथी
आँखा झिमिक्कै माल सामान गायब…’
हुन त यो चलचित्र ‘लक’को गीत हो । तर, चलचित्रको नामभन्दा पनि यो गीतले चर्चा पायो बजारमा । चलचित्र चलेर उत्रिसक्दा पनि यो गीतले गरम बनाएको बजार अझै सेलाएको छैन । यता थुपै्र सिनेमा खेल्दा पनि चर्चा कमाउन नसक्ने अनि नाम पनि त्यति बजारमा ल्याउन नसक्ने कलाकारहरूलाई पनि प्रस्तुत ‘आइटम डान्स’मा डान्स गर्ने सम्झना प्याकुरेल उदाहरण नै बनिन् । उनी यही एउटा गीतबाट चर्चामा आएकी छिन् यतिबेला ।
जब यो गीत विभिन्न टेलिभिजन च्यानलहरूमा प्रतिबन्ध भयो तब यो गीतप्रति चासो राख्नेहरूको सङ्ख्या बढेपछि निर्देशक ऋषि न्यौपानेले चलचित्र ‘लक’को रिलिज पनि गरिहाले । ‘हामीले दर्शकहरूको भावना बुझेर नै रिलिज गर्‍यौँ चाँडो । चलचित्रले परिणाम पनि रामै्र निकाल्यो,’ निर्देशक न्यौपाने भन्छन् । एउटै गीतबाट चर्चामा आएकोमा सम्झना पनि कम गद्गद् छैनन् । तर, यो गीतलाई विभिन्न कोणबाट हेरिदिएर गलत अर्थ लगाउनेहरूप्रति पनि उनको चित्त दुखाइ छ । उनले भनिन्, ‘हामीले शब्दलाई साङ्केतिक रूपले प्रस्तुत गरेका छौँ । तर व्याख्या भने सीधै गरियो । म बारमा डान्स गर्ने युवती हुँ । त्यहाँ खलनायकहरूले सामान लुकाएका हुन्छन् र त्यो सामान मैले देखेकी हुन्छु । सबै कुरा देखाइदिन्छु पैसा तिरेपछि भनेर प्रहरीलाई गीतमार्फत जानकारी दिन खोजिएको छ । यहाँ त शरीर देखाउने कुरा पो आयो,’ उनले बेलिविस्तार लगाइन् ।
सुरुमा त सम्झनाले पनि सोचेकी थिइनन् कि यो गीतले यस्तो हंगामा गर्ला भनेर । ‘नसोचेकोे भयो,’ उनी दङ्ग पनि छिन् । तर, बजारमा हिँड्दा दर्शकले ‘पैसा तिरेपछि सबै कुरा देखाइदिने हो…’ भनेर जिस्क्याउँदा भने उनको चित्त दु:खेको रहेछ । उनले भनिन्, ‘यो आइटम गीतमा नाचेपछि चर्चा त पाइयो तर पछिसम्म गलत छाप पर्ला कि भन्ने चिन्ता भने लागेको छ । म दर्शकहरूलाई मैले नाचेको गीतलाई गलत अर्थले नबुझिदिन अनुरोध गर्दछु ।’ कलाकार भएपछि हरेक भूमिकामा सहज प्रस्तुत हुन सक्नुपर्छ भन्ने मान्यता उनको छ । सम्झनाले थपिन्, ‘अब भने म आइटमतिरभन्दा पनि नायिकाको भूमिकातिरै बढी जोड दिन्छु । आइटमले छोटो समयमा नै चर्चा त पाउँछ तर त्यो दिगो हुँदैन रहेछ ।’

मुम्बईमा झुल्किए निखिल र निरुता
यतिबेला गुमनाम छन् निखिल उपे्रती र निरुता सिंह । दुई पत्नीका पति अनि तीन सन्तानका पिता निखिल र अविवाहित निरुताप्रति चासो पनि कम हुन थालेको छ दर्शकहरूमा आजभोलि ।
यिनीहरू कहाँ होलान् ? के गर्दै होलान् ? र यिनीहरूको दिनचर्या कसरी बितिरहेको होला त ? प्रसङ्ग उठेपछि जिज्ञाशा लाग्नु पनि अस्वाभाविक होइन । दुवै हाल नेपाली चलचित्र क्षेत्रबाट भूतपूर्व नायक–नायिकाको श्रेणीमा पर्न थालिसकेका छन् । सिनेमाको पर्दामा यी दुईलाई देख्न अब दुर्लभ हुने अवस्था आए तापनि घटना र विचारलाई एक स्रोतले भने निखिल र निरुतालाई मुम्बईमा देखेको कुराको जानकारी गराएको छ । सिनेमाको प्राविधिक कार्यका लागि मुम्बई पुगेको सो स्रोतले आजभोलि निखिल र निरुताबीच निकै हेलमेल बढ्न थालेको कुराको दाबी नै गरेको छ । नेपालका दुई पत्नी र तीन सन्तानको बिल्लिबाठ पारेर भारतको मुम्बईमा भौंतारिइरहेका निखिल आजभोलि कफी हाउस र क्याफेतिर निरुताका साथ देखापर्ने गरेका छन् । नेपाल आउँदा केही भारतीय चलचित्रमा काम गर्दै छु भनेर गफ दिने निखिल अनि भारतमा डे«स डिजाइनिङ पढ्दै छु भनेर ‘सान’ झार्ने निरुताको यो गफ नै हो भन्ने कुरा अब शङ्का मानिरहनुपर्ने अवस्था छैन । तैपनि नेपालमा शासन, मान, इज्जत र हाइहाइका साथ जीवन गुजारेका निखिल र निरुताको बाँच्ने हैसियत र दिनचर्याको बारेमा यतिबेला नेपाली चलचित्रकर्मी चुकचुकाउन थालेका छन् । कुनै समय निखिलको बाँच्ने शैली देखेर लोभ गर्नेहरू अहिले उनकै जीवनलाई लिएर गल्ती गरे निखिलले भन्न थालेका छन् ।

मिस नेपाललाई हिरोइन बनाउने रोजको योजना अधुरो
पुराना अनुहारप्रति दर्शकहरूको चासो र कुतूहल कम हुँदै जान थालेपछि अब निर्देशक–निर्माता सिनेमामा नयाँ अनुहारको खोजी गर्न थालेका छन् । उनीहरूको मँन्यता छ कि नयाँ कथा र प्रस्तुति भएपछि सिनेमामा देखापर्ने अनुहार पनि नयाँ नै हुनुपर्छ, किनकि त्यसले जीवन्तता पाउँछ ।
यी कुरालाई पछिल्लो समय निर्माताहरू निकै आत्मसात् गर्दै अगाडि बढिरहेका छन् । यसै क्रममा दोस्ती, खलनायक, म छु नि तिम्रो र टक्कर दुई मुटुकोलगायतका हिट चलचित्र दिइसकेका निर्माता एवम् अभिनेता रोज राणा पनि अब आफ्नो नयाँ प्रोजेक्टका निमित्त एउटी नयाँ अनुहारको खोजीमा छन् । ‘मेरो नयाँ प्रोजेक्टका निमित्त बिल्कुलै नयाँ अनुहार चाहिएको छ तर भनेजस्तो पाइएन,’ रोज भन्छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम हो हिरोइन । रोज यतिबेला हिरोइन चलचित्रका निम्ति हिरोइनको खोजी गरिरहेका छन् ।
राम्रो ब्यानरले चलचित्र बनाउन थालेको समाचार आएपछि त्यो ब्यानरमा छिर्नका लागि तँछाड–मछाड गर्नेहरूको सङ्ख्या त लामै छ । ‘तर कथाले खोजेजस्तो कोही पाइएको छैन । यो हिरोइनप्रधान चलचित्र भएका कारण एउटा फिल्म बोक्न सक्ने हिरोइन चाहियो मलाई । त्यस्तो बोल्ड र ड्यासिङ युवती नै पाइएन,’ रोजले जानकारी गराए ।
आफ्नो कथाले मागेजस्तो त र खोजेजस्तो कलाकार नपाएकै कारण आफ्नो चलचित्र सुटिङ गर्ने डेट पछि धकेलिँदै गएकोमा उनको चिन्ता छ । ‘मैले भारतीय नायिका शिल्पा सेठ्ठी, माधुरी दीक्षित अनि प्रियंका चोपडाजस्ता बोल्ड नायिका खोजेको हुँ, तर त्यस्तो यहाँ पाइँदैन,’ रोजले भने । तर पनि रोजको आँखा मिस नेपाल सृष्टि श्रेष्ठतिर नपुगेको भने होइन । ‘मिस नेपाल भएपछि एक वर्ष कतै काम गर्न पाइँदोरहेन छ । यसकारणले पनि मिस नेपाललाई हिरोइन बनाउन पाइएन । नत्र सृष्टि हिरोइन भइसक्थिन् । र, मेरो सिनेमाको काम पनि अगाडि बढ्दथ्यो,’ रोजले भने ।
त्यसो त रोजलाई स्नेहा राणालाई हिरोइन बनाए हुन्छ भन्ने सुझाव पनि नआएको होइन । यसबारे रोज भन्छन्, ‘हुन त उहाँको नाम पनि नआएको होइन । तर उमेर अलि बढी भयो उहाँको । नत्र अन्य पक्षबाट पनि स्नेहा राणा फिट नै हुनुहुन्छ ।’
रोजको चलचित्र हिरोइनमा एउटी सफल हिरोइन बन्नका निम्ति युवतीले गर्नुपर्ने र गरेका सङ्घर्षहरू समेटिनेछन् । समाजको हेर्ने प्रवृत्ति अनि सफलताको उचाइमा पुगेपछि त्यही समाज नतमस्तक भएको विषयलाई रोजले चलचित्र हिरोइनमा उठाउन खोजेका छन् ।