चिसो र शीतलहर पीडितलाई न्याना कपडा

चिसो र शीतलहर पीडितलाई न्याना कपडा


सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले न्याना कपडा वितरण गरेको हो ।

न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोहजारा टोलका १५० परिवारलाई राहतस्वरुप न्यानो कपडा वितरण गरिएको हो । प्रत्येक परिवारलाई एकवटा ब्ल्याङ्केट र ज्याकेट वितरण गरिएको हो ।

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले शीतलहरबाट बच्नका लागि न्यानो कपडा बाँडिएको बताए ।

यसैबीच, नेकपा (एमाले) निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकटको योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पनि शीतलहरबाट जोगाउनका लागि कपडा वितरण गर्ने भएका छन् ।

मंगलबार बसेको संयुक्त बैठकले तराईमा अत्यधिक चिसो र शीतलहरबाट सर्वसाधारणको जीवनयापनमा समस्या परेको भन्दै न्यानो कपडा वितरण गर्ने भएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिए ।