चीनको सुझाव मान्ने कि नमान्ने ?

चीनको सुझाव मान्ने कि नमान्ने ?


-राजेश ढुंगाना
प्रिय पाठक वृन्द् † घटना र विचारमा जे–जस्तो होस् लगातार सात वर्षसम्म स्तम्भ लेखेर कथित संविधानसभा निर्वाचनपछि खै किन हो कुन्नि अब लेख्ने काम सिद्धियो झैं भएकाले छिटफुटबाहेक लेख्न छाडिदिएँ । तर, यतिबेला आएर पुन: लेख्ने कुरा अझै बाँकी रहेको लाग्न थालेकाले यो स्तम्भमा तपाईंलाई पुन: स्वागत गर्दछु ।
त पाठक वृन्द † कुरा जहाँबाट सुरु गरिएको थियो– त्यहीँबाट सुरु गरौँ । यसो गर्दा एकप्रकारले पहिलेका विचारहरूको समीक्षा जस्तो पनि हुन्छ र नयाँ छलफलको सम्बन्ध पनि जोडिन्छ । संविधानसभाकै दिन प्रकाशित घटना र विचार जोकसैले पल्टाएर हेर्दा हुन्छ, यही स्तम्भमा ठोकुवाका साथ लेखिएको थियो– अब माओवादीले सत्ता ‘कब्जा’ गर्‍यो । नभन्दै गर्‍यो, जब कि काङ्गे्रस–एमाले आफू जित्ने दिवास्वप्नमा थिए । त्योबाहेक प्रतिगामीको बिल्ला लाग्ने खतरालाई सहर्ष स्वीकार्दै यही स्तम्भमा सर्वप्रथम हतियार नबुझाई माओवादीलाई सरकार र सदनमा ल्याउनु गलत हुन्छ भनी बारम्बर लेखिएको थियो । तर, सत्ताले बहिरा भएका काङ्गे्रस–एमालेले सुनेनन् । जसको परिणाम स्वयम् उनीहरूले त भोग्दै छन् नै । थपमा मुलुकले दूरगामी दुर्भाग्य भोग्दै छ । अझै कति समय भोग्ने हो । त्यति मात्र होइन सङ्घीयताले मुलुक टुक्रन्छ अथवा मुलुक टुक्र्याउनकै लागि सङ्घीयताको कुरा बडो लोकप्रिय र लोभलाग्दो ढङ्गले ल्याइएको छ भनी यही स्तम्भमा बारम्बार लेखिएको थियो ।
धन्न संविधानसभारूपी ‘काल’को उपयुक्त समयमा मृत्यु भएर तत्कालका लागि त्यो दुर्भाग्य टरेको छ । यदि संविधानसभामार्फत सङ्घीयताको निर्णय भएको भए मुलुक एकाध दशकमा टुक्रने मार्गमा तीव्र गतिले हिँड्ने थियो । संसारमा टुक्रा–टुक्रामा विभक्त मुलुकलाई जोड्न संघीयता लागू गरिएको हो– भारतजस्तो । अढाइ सय वर्षअघि एक भएको मुलुक नेपाललाई यतिबेला आएर कुन प्रयोजनका लागि फेरि सङ्घीयतामा टुक्रा पार्ने ? त्यो पनि जातीय सङ्घीयताका लागि । यसले त जातीय सद्भाव मात्र बिथोल्दैन । गृहयुद्धको श्रीगणेश गर्छ । जनु गराउन खोजिँदै छ ।
पछिल्लो समयमा मान्छेले त्यति ध्यान दिएका छैनन्, गम्भीर र सकारात्मक कुरामा ध्यान नदिने अनि हल्का र नकारात्मक कुराको पछि लाग्ने आमनेपालीको स्वभाव र चरित्र नै हो । पछिल्लो समय मित्रराष्ट्र चीनले विभिन्न तरिकाले दिएको असल र उपयुक्त सुझाव सम्बन्धमा पनि नेपालका ठूला नेता र जनताले त्यति ध्यान दिएका छैनन् । मोहन वैद्य किरणलाई सङ्घीयतामा जाँदा नेपाल टुक्रन सक्छ भन्ने सन्देश दिएर मित्रराष्ट्र चीनले पठायो । यो कम महत्वको कुरा हो । यो अरूले होइन स्वयम्् वैद्यले सार्वजनिक गरेको कुरा हो । यसैगरी केही समय पहिले सरकारसँग नजिक रहेका एक चिनियाँ प्राध्यापकले वीबीसीसँगको साक्षात्कारमा भनेका थिए– सङ्घीयतामा गयो भने नेपालको तराई आंशिक वा पूरै छुट्टिएर जान सक्छ ।
अब आफूलाई चीनका चेला भनेर गर्व गर्ने प्रचण्ड र वैद्यहरूको यसबारेमा के धारणा छ र उनीहरू आफूलाई बदल्न तयार छन् ? अन्तत: राष्ट्रवादी र राष्ट्रघातीको परीक्षण यसैबाट हुनेछ ।