‘रामचन्द्रकै नेतृत्वमा सरकार बन्छ’ -सभापति सुशील कोइराला

‘रामचन्द्रकै नेतृत्वमा सरकार बन्छ’ -सभापति सुशील कोइराला


नेपाली कङ्ग्रेसका तर्फबाट प्रधानमन्त्रीमा को उम्मेदवार होला भन्ने जिज्ञासा उत्पन्न भइरहेका बेला पार्टीका सभापति सुशील कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेल नै उम्मेदवार बन्नुहुने स्पष्ट गर्नुभएको छ । घटना र विचारका लागि ऋषिकुमार धमलासँग कुरा गर्दै कोइरालाले भन्नुभयो- विधानबमोजिम नै उम्मेदवारको टुङ्गो लाग्ने हो । यस विषयमा अब ज्यादा छलफल गरिरहनुपर्ने छैन । एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो- नेपाली काङ्ग्रेस सहमति र सहकार्यबाटै अगाडि जानुपर्छ भन्ने पक्षमा छ । पछिल्लो केही समयमा आएर सहमतिको वातावरण बनेकोजस्तो छ । तर, अझै पनि माओवादीले जिम्मेवार भूमिका निर्वाह गर्न बाँकी छ ।
कहिलेसम्म सहमतिको वातावरण बन्ला त भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो- सहमतिको वातावरण बन्नका लागि दलहरूको बीचमा छलफल सुरु भएको छ । तर, यो निष्कर्षमा पुगिसकेको छैन । तर पनि राष्ट्रपति डा् रामवरण यादवले सहमतिको सरकारका लागि दिनुभएको समयभित्रै हामीले एउटा निर्णय गर्नुपर्छ । त्यसमा छिट्टै दलहरूबीच घनीभूत छलफल भएर सहमतिको सरकार निर्माणका लागि ढोका खोल्ने छ भन्नेमा म ढुक्क छु ।
राष्ट्रपतिले दिएको समयभित्रै सहमतिको सरकार गठन गर्न सक्नुहुन्छ ?
त्यसका लागि एक-आपसमा छलफल गरेर समझदारी निकाल्नुपर्छ । राष्ट्रपतिले दिएको समयभित्रै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि नेपाली काङ्ग्रेस सबै दलहरूसँग कुराकानी गरेर अगाडि बढ्न तयार छ । म एमाले र माओवादीका शीर्ष नेतृत्वहरूलाई आग्रह गर्न चाहन्छु- नेपाली काङ्ग्रेसकै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्नुपर्छ । त्यसका लागि सहयोग गर्न आग्रह गर्दछु ।
० काङ्ग्रेसको नेतृत्वमा सरकार निर्माण हुने आधार तयार भएको हो ?
– अहिले नेपाली काङ्ग्रेसकै नेतृत्व मुलुकका लागि अपरिहार्य छ । संविधानसभाको निर्वाचनपछि माओवादी र एमालेको नेतृत्वमा सरकार बनिसकेको छ । दुवै सरकारले शान्ति र संविधानको सुनिश्चितता गर्न सकेनन् । त्यसैले शान्तिप्रक्रियालाई निष्कर्षमा नपुर्‍याउन्जेलसम्म काङ्ग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्छ । काङ्ग्रेसको मुख्य एजेण्डा भनेको शान्ति र संविधान नै हो । सत्ता गौण कुरा हो । पछिल्लो समयमा आएर माओवादी सेना समायोजन गर्न सकारात्मक भएको हो कि जस्तो हामीले महसुस गरेका छौँ । अनमिन गइसकेपछि माओवादी लडाकुहरू विशेष समितिअर्न्तर्गत आउने जुन वातावरण बनेको छ यो पोजिटिभ स्टेप हो ।
० माओवादी सुध्रिँदै छ भन्ने काङ्ग्रेसको निष्कर्ष हो ?
– मलाई पूर्ण विश्वास छ, शान्तिप्रक्रिया पनि निष्कर्षमा पुग्छ र नयाँ संविधान पनि लेखिन्छ । माओवादीहरूमा पनि अहिले जिम्मेवारीबोध भएकोजस्तो देखिन्छ । उनीहरू पनि यही प्रक्रियाबाट अगाडि नबढी सुखै छैन । नेपालले प्राप्त गरेको यति ठूलो उपलब्धि संस्थागत विकासका लागि पनि सबै दलहरूबीचमा सहमति हुनैपर्छ ।
० उसोभए माओवादीको नेतृत्वमा काङ्ग्रेस सरकारमा जान तयार हुन्छ त ?
– अहिलेको स्थितिमा हामी माओवादीको नेतृत्वमा सरकारमा जान सक्दैनौँ । जबसम्म माओवादीको लडाकु समायोजन हुँदैन । हतियारविहीन पार्टीको रूपमा ऊ स्थापित हुँदैन तबसम्म उसको नेतृत्वमा हामी सरकारमा जान सक्दैनौँ । शान्तिप्रक्रिया टुङ्गिएपछि हामी जसको नेतृत्वमा सरकारमा जान पनि तयार छाँै ।
० त्यतिबेला तपाईंहरू प्रचण्डलाई पनि प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?
– माओवादीको लडाकु समायोजना भयो र नागरिक पार्टीको रूपमा स्थापित भएपछि हामी माओवादीकै नेतृत्वमा पनि सरकारमा जान तयार छौँ । प्रचण्डलाई पनि प्रधानमन्त्री बनाउन तयार छौँ । तर, अहिलेको परिस्थितिमा माओवादीले काङ्ग्रेसकै नेतृत्वको सरकारलाई सहयोग समर्थन गर्नुपर्छ । शान्तिप्रक्रिया टुङ्ग्याउन, लोकतान्त्रिक संविधान निर्माण गरेर चुनाव गराऔँ अनि सरकार जसले चलाए पनि हुन्छ, केही फरक पर्दैन ।
० काङ्ग्रेसको नेतृत्वलाई माओवादीले समर्थन गर्छ त ?
– गर्नुपर्छ, मैले माओवादी नेतृत्वसँग आग्रह गरेको छु । काङ्ग्रेसको नेतृत्वमा सरकार बने धेरै कुरा टुङ्गिन्छ । सहमति र सहकार्यको युग पनि सुरु हुन्छ ।
० एमालेले त माओवादीसँग मिलेर सरकार बनाउने अरे नि त ?
– मैले प्रचण्ड र झलनाथ खनालजी दुवैलाई आग्रह गरेको छु- काङ्ग्रेस नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुस् र यही सरकारमा सहभागी भएर सहमतिको अभियानमा जुट्नुस् । उहाँहरू सकारात्मक हुनुहुन्छ ।
० नेतृत्वलाई लिएर काङ्ग्रेसभित्रै विवाद छ नि त ?
– काङ्ग्रेसभित्र कुनै पनि विवाद छैन । पार्टी विधान र विधिअनुसार चल्नुपर्छ । बाहिर मिडियामा आएकोजस्तो विवाद पार्टीमा छैन । त्यसैले मसँग विवादको कुरै नगर्नुस् ।
० शेरबहादुर देउवाले त प्रधानमन्त्री बन्न गृहकार्य थाल्नुभएको छ नि त ?
– कसले के गृहकार्य थालेको छ मलाई थाहा छैन । पार्टी एउटा प्रक्रियाबाट अगाडि बढ्छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने पार्टीको विधानमा लेखिएको छ । त्यहीअनुसार हामी अगाडि बढ्छौँ । पार्टीले एउटा निर्णय गरिसकेको छ । त्यसमा अहिले पनि अडिग छ ।
० रामचन्द्र पौडेललाई फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाउनुहुन्छ ?
– एकदम, रामचन्द्र पौडेल नै फेरि पनि प्रधानमन्त्रीको उम्मेदवार हो । काङ्ग्रेसले त्यो निर्णय परिवर्तन गर्ने आवश्यकता नै महसुस गरेको छैन ।
० रामचन्द्र पौडेलको विकल्प शेरबहादुर देउवा हुन सक्दैनन् ?
– होइन, अहिले विकल्पको कुरै नगर्नुस् । रामचन्द्र पौडेल संसदीय दलको नेता हो र पार्टीले यसमा परिवर्तन गर्ने सम्भावना छैन । प्रजातान्त्रिक पार्टीमा विकल्पको कुरा आउन सक्छन् तर त्यसमा संस्थागत निर्णय हुनुपर्छ । पार्टी विधि र विधानले चल्छ । हामी त्यसैअनुसार अगाडि बढ्छौँ । अहिले हामीले रामचन्द्र पौडेलको विकल्प खोजेका छैनौँ ।
० पार्टीभित्र त शेरबहादुर देउवालाई विकल्पको रूपमा प्रस्तुत गर्नुपर्छ भनेर यत्रो लबिङ भइरहेको छ नि ?
-ल त्यस्तो कुरा मसँग नगर्नुस्, पार्टीभित्र कसैले लबिङ गरेको मलाई थाहा छैन । मेरो पनि सबै साथीसँग कुरा भइरहेको छ । काङ्ग्रेस एक छ, एकमतले निर्णय गर्छ । अहिले हामीले उम्मेदवारी परिवर्तन गर्ने कुरा गर्‍यौँ भने अरूले खेल्ने मौका पाउँछन् ।
० तपाईंको शेरबहादुर देउवासँग कुरा भएको छैन ?
– कुराकानी भइरहेको छ । हामी जे गर्छौं एकताबद्ध भएर गर्छौं । अहिले काङ्ग्रेसले उम्मेदवारी परिवर्तन गर्नु हुँदैन भनेर मैले सबैसँग भनेको छु ।
० के रामचन्द्र पौडेलकै नेतृत्वमा सरकार बन्छ त ?
– तपाईं लेखेर राख्नुस् रामचन्द्रकै नेतृत्वमा सरकार बन्छ ।