मोदीसँगको भेटपछि योगीले पूर्व श्री ५ सँग भेटवार्ता गरेको खुलासा

मोदीसँगको भेटपछि योगीले पूर्व श्री ५ सँग भेटवार्ता गरेको खुलासा


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको लखनउ भ्रमण अत्यन्त ‘सुखद र उपलब्धिमूलक’ रहेको जानकारी प्राप्त भएको छ । नेपाल र भारतका केही समाचार सूत्रहरूले जनाएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको विशेष संवादले पूर्व श्री ५ को उत्साह र आशा बढाएको छ ।

गत सोमबार (पुस २४ गते) नेपालका महाराजाधिराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएपछि योगी आदित्यनाथको विशेष निमन्त्रणालाई स्वीकार गर्दै पूर्व श्री ५ ज्ञानेन्द्र आइतबार (पुस २३ गते) नेपालगन्ज मुकामबाट लखनउतर्फ प्रस्थान गर्नुभएको थियो । लखनउमा उहाँको न्यानो स्वागत भएको र योगीले नै त्यहाँ बसोवासको राम्रो व्यवस्थासमेत गर्नुभएको थियो । उक्त दिन मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व श्री ५ बीच सामूहिक वार्तापश्चात् पैंतालीस मिनेट लामो अलग्गै गुप्त वार्तालापसमेत भएको थियो । वार्तालाप के–कस्ता विषयमा केन्द्रित रहे सोको जानकारी हुन सकेको छैन । तर, वार्तालापका क्रममा नेपालको स्थितिलाई लिएर समान चिन्ता प्रकट भएको र वर्तमान अस्थिरता एवम् अराजकताको स्थितिलाई लिएर योगीले थप दुःख प्रकट गर्नुभएको बुझिएको छ ।

यसैगरी चलाउन खोजिए नेपालमा अस्थिरता बढ्ने, नेपालको धर्मसंस्कृति र पहिचान सङ्कटग्रस्त अवस्थामा पुग्ने र अन्ततः राष्ट्रिय एकता एवम् राष्ट्रिय सार्वभौमिकतालाई समेत क्षति पु¥याउन सक्ने उहाँहरूबीच कुराकानी भएको स्रोतहरूले बताएका छन् । स्मरणीय पक्ष के छ भने पुस २४ गते मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व श्री ५ महाराजाधिराजबीच भेटवार्ता हुनुभन्दा अघिल्लो दिन (पुस २३ गते) योगी नयाँदिल्लीमा हुनुहुन्थ्यो र नयाँदिल्लीमा योगीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्ताका क्रममा योगीले नेपालका ‘श्री ५ महाराजाधिराजलाई आफूले भेटका निम्ति आमन्त्रण गरेको’ जानकारी गराउनुभएको बुझिएको छ । सो अवसरमा नेपालको विषयमा मोदी र योगीबीच विशेष वार्तालाप भएको चर्चा नयाँदिल्लीमा चलेको छ । अघिल्लो दिन प्रधानमन्त्री मोदीसँग भेटेर भोलिपल्ट नेपालका पूर्व श्री ५ सँग भेट गर्नुलाई विश्लेषकहरूले अर्थपूर्ण मानेका छन् ।

नेपालगन्जलाई मुकाम बनाएर पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्व श्री ५ महाराजाधिराजलाई मुख्यमन्त्री योगी आदित्यनाथले आमन्त्रण गर्नुभएपछि उहाँ पुस २३ गते आइतबार लखनउ जानुभएको थियो । उहाँ पुस २७ गते बिहीबार लखनउबाट नेपालगन्ज फर्कनुभएको छ । लखनउमा रहँदा योगीले पूर्व श्री ५ को विशेष अभिनन्दन गर्नुभएको थियो । त्यस अवसरमा योगीले नेपालका महाराजाधिराजलाई सम्बोधन गर्दा ‘पूर्व’ शब्दको प्रयोग गर्नुभएको थिएन । उहाँले महाराजाधिराजलाई गोरखनाथको विशेष प्रसाद चढाउनुभएको थियो ।

स्मरणीय छ, योगी आदित्यनाथ गोरखपुरस्थित गोरखनाथ पीठका प्रमुख हुनुहुन्छ र नेपालको राजवंश गोरखनाथकै आशीर्वादबाट स्थापित भएको विश्वास उहाँको छ । मुख्यमन्त्रीको जिम्मेवारी लिनुअघि योगी आदित्यनाथको पटक–पटक नेपाल आगमन भएको छ र उहाँ नेपाल राजसंस्थासहितको हिन्दू अधिराज्य बन्नुपर्ने विचार व्यक्त गर्ने गर्नुहुन्थ्यो । भनिन्छ, आदित्यनाथ अहिले पनि नेपाललाई हिन्दूराष्ट्रका रूपमा हेर्न चाहनुहुन्छ । तर, यो भेटवार्ताका क्रममा नेपाललाई हिन्दू अधिराज्यमा रूपान्तरित गर्ने विषयमा कुनै ठोस संवाद भए–नभएको भने थाहा हुन सकेको छैन ।