मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले विभिन्न समूहमा विभक्त माओवादी विचारका पार्टीहरुसँग एकता गर्ने नीति अवलम्बन गर्न थालेको बुझिएको छ । एकताको आधार तयार गर्न सो पर्टीले वार्ता टोली बनाउने निर्णय गरेको छ ।
गत सोम र मंगलबार बसेको सो पार्टीको स्थायी समितिको बैठकले पार्टी एकता र कार्यगत एकतालाई अघि बढाउने निर्णय गरेको बताइएको छ । बैठकपछि महासचिव मोहन वैद्यले एक प्रेस वक्तव्य जारी गर्दै यसको खुलासा गरेका हुन् ।
वैद्यको विज्ञप्तिमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ ।
यसैगरी, क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठन र विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको पनि विज्ञप्तिमा वैद्यले उल्लेख गरेका छन् ।
उनका अनुसा ती पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया