प्रचण्ड-परिवारमा बुहारी सिर्जनाको भविष्य के ?

प्रचण्ड-परिवारमा बुहारी सिर्जनाको भविष्य के ?


राष्ट्रपतिसँग एमाओवादी अध्यक्ष प्रचण्ड परिवारको फोटोमा बुहारी सिर्जना त्रिपाठी नदेखिएपछि जिज्ञासा पैदा भएको छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले एमाओवादी अध्यक्ष प्रचण्डको परिवारलाई राष्ट्रपतिनिवासमा साँझको खाना खान बोलाउँदा सदस्यको लहरमा प्रचण्डका छोरीहरू, ज्वाइँहरू, नातिनातिनी देखिए पनि बुहारी सिर्जना देखिएकी थिइनन् । कतिले बुहारी सिर्जना नदेखिनुमा उनले नै फोटो खिचेकी हुन् कि भन्ने अर्थ पनि लगाएका छन् । तर, सो अर्थ सही नभएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार राष्ट्रपतिद्वारा प्रचण्ड परिवारलाई दिइएको डिनरमा बुहारी सिर्जनालाई कुनै खबर गरिएको थिएन । सिर्जना प्रचण्डपुत्र (स्व.) प्रकाश दाहालकी पत्नी हुन् । छोरासँग राजधानीमा डेरामा बस्दै आएकी सिर्जना प्रकाशको देहान्तपछि तात्कालिक प्रचण्डनिवास लाजिम्पाट गए पनि अहिले उनको बसाइ प्रचण्ड परिवारसँग छैन । छोरा भने परिवारमा बस्दै आएका छन् । बुहारीलाई सकेसम्म घरमा भित्र्याउन नचाहने प्रचण्डपत्नी सीताले नातिलाई भने काखी च्याप्दै आएकी छिन् । राष्ट्रपतिसँगको डिनरमा प्रकाश र सिर्जनाका छोरालाई पनि साथै लगिएको थियो । प्रकाशको ‘प्रतिलिपि’झैं लाग्ने उनका छोरालाई प्रचण्डले विशेष व्यवहार गर्दै आएका छन् । अहिले स्कुलको फी तिर्ने र उनलाई स्कुलमा लैजाने–ल्याउने काम पनि प्रचण्डनिवासबाट हँुदै आएको छ । छोरालाई अति माया गर्ने, तर बुहारीहरूलाई देखिनसहने प्रचण्डपत्नी सीताले पनि नातिलाई माया गर्ने बुझिएको छ ।

प्राप्त जानकारीअनुसार प्रकाशकी कान्छीपत्नी बिना मगरसँग पनि सासू सीताको दूरी बढिरहेको थियो । बढ्दो दूरीकै क्रममा प्रकाशको निधन भएपछि अहिले समानान्तर सम्बन्ध चलिरहेको छ । श्रीमती बिना र आमाबीच सम्बन्ध चिसिँदै गएपछि प्रकाश तनावमा थिए । सम्बन्ध सुमधुर बनाउन नपाउँदै हृदयाघातका कारण प्रकाशको देहावसान भयो । बिना अहिले कञ्चनपुरबाट सांसद बनेकी छिन् । चुनावमा भाग लिन तनावकैबीच उनी सुदूरपश्चिम पुगेकी थिइन् । चुनावी प्रचारमा प्रकाश एकपटक पनि पत्नीको चुनावी क्षेत्र पुग्न पाएका थिएनन् । सासूसँग सम्बन्ध चिसिँदै गएको भए पनि पति प्रकाश र ससुरा प्रचण्डसँग भने बिनाको सम्बन्ध राम्रो थियो ।

नाति साथमा लगेपछि सिर्जनाको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा प्रचण्ड परिवारलाई नजिकबाट नियालिरहेकाहरूबीच चर्चाको विषय बनेको छ । ससुराले छोरीलाई झैँ व्यवहार गर्ने भनी चर्चामा आएकी उनलाई बुहारीको हैसियत मिल्ने हो कि होइन या उनलाई कस्तो व्यवहार गरिने हो भनेर चासो राख्नेहरूको सङ्ख्या ठूलो छ । ससुरा प्रगतिशील पार्टीको सर्वोच्च नेता, आमाज्यू भरतपुर महानगरपालिकाकी मेयर र सौता प्रतिनिधिसभाको निर्वाचित सांसद भएको शक्तिशाली परिवारमा प्रचण्डपुत्र स्व. प्रकाशकी विधवाको मात्र हैसियत भएकी सिर्जनाको भविष्य के होला आमजिज्ञासाको विषय बनेको छ ।