तरलता व्यवस्थापन गर्न शुक्रबार १० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न शुक्रबार १० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नको लागि शुक्रबार १० अर्ब रुपैयाँ पठाउने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थाको विकास ऋणपत्र धितोमा राखेर यतिका रकम बजारमा पठाउन लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर देखेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर रकम पठाउन लागेको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात ८० प्रतिशतको हारहारीमा पुगेको राष्ट्र बैंकले जनाएको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जनाएको छ ।

बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तर बैंक ब्याज दर ५ प्रतिशतभन्दा तल रहेको छ । अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् । रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बजारमा ४८ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।