काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना

काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना


माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी गराइएको हो ।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो ।

माघ १९ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालद्धारा उद्घाटन गरिने कार्यक्रममा विशेषगरी बैंकिङ प्रविधि र सेयर बजारसम्बन्धी सूचनालाई केन्द्रमा राखिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतको सूचनामूलक स्टलहरु रहने छन् भने दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी संचालन हुनेछ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि समेत महत्वपूर्ण मानिएको बैंकिङ एक्स्पो माघ १९ र २० गते विहान १० बजेदेखि ५ बजेसम्म संचालन हुनेछ ।