ट्राफिक कारबाहीबाट एक करोड ६२ लाख उठ्यो

ट्राफिक कारबाहीबाट एक करोड ६२ लाख उठ्यो


ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा रु एक करोड ६२ लाख राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

पुसमा तीन हजार ५०० सवारीसाधनका चालकलाई कारबाही गरी रु २४ लाख ७८ हजार राजस्व संकलन गरिएको छ । मापसे गरी सवारी चलाउने ४०७ चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार चालु वर्षको छ महिनामा १३४ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् ।

छ महिनाको अन्तरालमा विभिन्न क्षेत्रमा ट्राफिक संकेत टाँस्ने तथा बोर्ड राख्ने काम गरिएको छ । सडक सुरक्षाको विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा विभिन्न स्थानमा ट्राफिक सन्देशमूलक कार्यक्रम गरिएको छ । दैनिकजसो जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिँदैआएको निरीक्षक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरी दुई हजारभन्दा बढीलाई सचेत गरिएको छ ।