हिंसात्मक कार्य रोक्न धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

हिंसात्मक कार्य रोक्न धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी


धनकुटामा ३३ दिनदेखि जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय प्रशासनले अनिश्चतकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

आज बिहान आन्दोलनकारी र प्रहरी बीच भएको धडपकडका कारण धनकुटा बजारका बिभिन्न स्थानहरुमा झडप भएको थियो । धनकुटाको,मदन चौक,बिच बजार,भिमनारायण चौक लगाएत बिभिन्न स्थानमा भएको झडपमा स्थिति नियन्त्रण लिन प्रहरीले करिव आधा दर्जन अश्रु ग्यांस प्रहार गरेको थियो ।

आक्रोशित आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेर एक कोठाको कम्प्युटर र फनिर्चर जलाईदिएका छन् । त्यस्तै सहरी बिकास कार्यालयको को १ बा १०६४ नं.को मोटरसाईकल जलाईदिएका छन् । त्यतै आगो निभाउन गएका धनकुटा नगरपालिकाको बारुण यन्त्र(दमकल)मा तोडफोड गरिएको छ ।

त्यस्तै मोरङ्गबाट भोजपुर बिरामी लिन गएको को २ च ४३२ नं.को एमबुलेन्समा समेत तोडफोड गरिएको छ ।
आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन,शहरी बिकास,हुलाक,उच्च अदालत बिराटनगर धनकुटा ईजलास,मालपोत लगाएतको बिभिन्न कार्यालयहरुमा तोडफोड गरेका छन् ।

झडपमा परी नेपाली कांग्रेस धनकुटाका कोषाध्य दिनेश राई सहित ७ जना घाईते भएका छन् । राईको टाउकोमा चोट लागि गम्भिर घाईते भएको र अन्यको अबस्था सामान्य रहेको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।

जिल्लाको अबस्था थप गम्भिर हुन नदिन कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए ।