अस्थायी केन्द्रबाट वञ्चित भएपछि बल्यो वीरगञ्ज

अस्थायी केन्द्रबाट वञ्चित भएपछि बल्यो वीरगञ्ज


वीरगञ्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले पर्साको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि वीरगन्जका चोक–चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले प्रदेशको अस्थायी जनकपुरलाई तोकेको विरोधमा आज वीरगन्ज बन्दको आह्वान भएको हो ।

वीरगञ्जको बाइपास, मुर्ली, बसपार्कलगायतका स्थानमा युवा नेता महमुद अन्सारी र अकलेश साहको नेतृत्वमा बन्दकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका छन् । यस्तै, बन्दकर्ताले आज विहान एउटा गाडीमा समेत तोडफोड गरेका छन् वीरगञ्जको घण्टाघरमा बा १२ च ७३६५ नम्बरको सुजुकी कार बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

सरकारले हिजो सातवटै प्रदेशको अस्थाई मुकाम तोकेपछि विभिन्न स्थानमा यसको विरोध भएको हो । वीरगन्ज राजधानी संघर्ष समिति पर्साले वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुइ सातादेखि रिले अनशन बस्दै आएका थिए । हिजो सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि आन्दोलन थप चर्किंदै गएको हो ।

सरकारको निर्णय जनविरोधि रहेकाले तत्काल उक्त निर्णय सच्याएर वीरगन्जलाई राजधानी तोक्न मागसहित आज वीरगञ्ज बन्दको आह्वान गरिएको सङ्घर्ष समितिका सहसंयोजक एवम् पूर्वसांसद राजकुमार गुप्ताले बताउनुभयो । बन्दको क्रममा आज वीरगञ्जमा बजार, पसल, उद्योग कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका साथै सार्वजनिक यातायातका सवारीसाधनरू बन्द रहेको छ ।

हिजो अपरान्ह सरकारले जनकपुरलाई अस्थायी राजधानी तोक्ने निर्णय गरे लगत्तै वीरगञ्जको आन्दोलनले बन्दको रुप लिएको हो । जनकपुरलाइ अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताहरुले हिजो साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गनृका साथै सवारीसाधनहरूमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरूले घण्टाघर चोकमा हिजो साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको सरकारी जिपका साथै केही टाटासुमो र मोटरसाइकलहरूमा तोडफोड गरेका छन् ।

यस्तै सरकारले जनकपुरलाई अस्थायी मुकामन तोकेको विरोधमा बाराको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । वीरगञ्ज संघर्ष समितिको आह्वानमा गरिएको बन्दमा लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन् । बन्दकर्ताहरूले वीरगञ्ज कलैया सडक खण्ड र वीरगञ्ज पथलैया सडकखण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

वीरगन्ज कलैयाको गण्डकमा राजकिशोर गुप्ताको नेतृत्वमा संघर्ष समितिद्वारा जक्काजाम र टायर बालेर प्रदर्शन गरेको छ । त्यस्तै प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा कलैया वीरगन्ज सडक खण्डको प्रर्सौनीमा बन्द गरेको छ । प्रर्सौनीमा विहान आठ बजेदेखि १० बजे सम्म दुईघण्टा बजार समेत बन्द गरेको छ । त्यस्तै गण्डक पथलैया सडकखण्डको चैनपुरमा पनि प्रदर्शन गरेको छ । सुनिल पटेलको नेतृत्वमा बिहान आठ बजेदेखि बन्द गरिएको वीरगन्ज संघर्ष समितिका सदस्य लोकेश सिहंले जानकारी दिनुभयो ।

यसैबीच संघीय समाजवादी फोरमले भने वीरगञ्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरे पनि आजको बन्दको पक्षमा फोरम नेपाल नरहेको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बन्द गरेर केही हुदैन, वीरगञ्जवासीलाई सास्ती दिनुहुँदैन, विगतका बन्द हड्तालले वीरगन्जवासी त्रसित भइसकेको छ, त्यसैले बन्दको विकल्प खोज्नुपर्छ ।’ सरकारलाई असहयोग गर्ने आन्दोलन गर्नुपर्नेमा लगायतका आन्दोलनमा जोड दिँदै कार्यवाहक अध्यक्ष कुर्मीले त्यसका लागि राजस्व नतिर्ने, नेपाल सरकारलाई प्रत्यक्ष असर पार्ने खालको भन्सार नाका लगायतका अन्य निकायमा बन्द गर्नुपर्ने बताउनुभयो । यदि बन्द कसैले गर्छ भने बन्द खोलाउन पनि आफूहरु तयार रहेको भन्दै त्यसको विषयमा अहिले केहीबेरमा पार्टीको बैठकबाट निर्णय हुने कुर्मीले बताउनुभयो ।

प्रणय साह