दाङवासीले निर्वाचनमा सहभागिता नजनाउने, सङ्घर्ष चर्काउने

दाङवासीले निर्वाचनमा सहभागिता नजनाउने, सङ्घर्ष चर्काउने


राष्ट्रिय सभाका लागि हुने निर्वाचनलाई दाङवासीहरूले अवरोध पुऱ्याउने भएका छन् । आज दाङमा भएको सर्वदलीय बैठकले माघ १० गते राष्ट्रियसभामा निर्वाचनका लागि हुने मनोनयन दाखिला कार्यक्रमलाई अवरोध गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार मनोनयन दाखिला गर्ने कार्यक्रम सम्पन्न हुन नदिन दाङवासीहरू १० गते भालुवाङमा भेला हुने भएका छन् । सर्वदलीय बैठकले सङ्घर्ष अघिबढाउन एमाले (अध्यक्ष, टीकाराम खड्का) संयोजक, नेपाली काङ्ग्रेस (सभापति, कीर्तिबहादुर खड्का) उपसंयोजक र माओवादी (अध्यक्ष, निर्मल) सचिव रहेको एक सङ्घर्ष समिति गठन गरेको छ ।

समितिमा उद्योग वाणिज्य संघ र वन उपभोक्ता संघलगायत विभिन्न पेशागत समूहहरूलाई पनि सामेल गर्ने निर्णय बैठकले गरेको छ । सङ्घर्षलाई व्यापक बनाउन बर्दियादेखि कपिलवस्तुसम्मका जिल्लाहरूमा जनजागरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।

सङ्घर्षका क्रममा सरकारी निकाय तथा सरकारका प्रतिनिधि र निर्वाचन आयोगका कर्मचारीहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने बुझिएको छ ।