कांग्रेस केन्द्रीय समिति विस्तार गर्न तरुण दलको माग

कांग्रेस केन्द्रीय समिति विस्तार गर्न तरुण दलको माग


निर्वाचन भएको १६ महिना वित्दा पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति विस्तार हुन नसकेको भन्दै चाँडो विस्तार गर्न नेपाल तरुण दलले पार्टीलाई आग्रह गरेको छ । दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले यस आग्रहलाई मागकै रुपमा अघि सार्ने निर्णय गरेको बताइएको छ ।

यतिका अवधि बित्दा पनि पार्टी केन्द्रीय कार्यसमिति तथा विभागहरुले पूर्णता पाउन नसक्दा नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको छबिमा आँच पुगेको तरुण दलका सदस्यहरुले गुनासो गर्दै आएका थिए ।

दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गर्नुका साथै महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने तय गरेको छ ।

त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन पनि तरुण दलले सरकारसँग माग गरेको छ ।

यसैबीच नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले आफ्नो संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । संघका सभापति तीर्थ थापासहितको टोलीले सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेर संघको दोस्रो अधिवेशनले पारित गरेअनुसार शुभेच्छुक संस्थाको रुपमा रहेको संघलाई भ्रातृ संस्था बनाउनुपर्ने माग गरेको हो ।